समाजवादीहरू नेतालाई ग्रेटम्यान ठान्ने र नेताले यसम्यान खोज्ने प्रवृत्तिबाट बच्नु पर्छ : सहअध्यक्ष श्रेष्ठ  

काठमाडौँ, १० माघ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टीमा अन्धभक्तहरूको जमात होइन सिद्धान्तनिष्ठ नेता कार्यकर्ताहरूको लामबद्ध पंक्ति तयार हुनुपर्ने बताएका छन् । उनले कार्यकर्ताले नेतालाई ग्रेटम्यान ठान्ने र नेताले यसम्यान खोज्ने प्रवृत्ति गलत भएको बताउँदै पार्टी संस्थागत परिपाटी, विधान र पद्धतिअनुरूप चल्नुपर्ने बताएका छन् ।

नेता श्रेष्ठले उक्त कुरा शुक्रवार काठमाडौँको बोहराटारमा भएको एक कार्यक्रममा बताएका हुन् । उनले साधा जीवन र कठोर परिश्रमको समाजवादी संस्कृतिको विकास गर्न नेताहरूले आफूलाई महान ठान्ने पुँजीवादी प्रवृत्ति त्यागेर जनताको सेवक ठान्नुपर्ने र कार्यकर्ताहरूले जनतासँग एकाकार भएर अगाडी बढ्नुपर्ने बताए । उनले पार्टीलाई जनआधारित कार्यकर्ता पार्टी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसद श्रेष्ठले देशमा भ्रष्टाचार र कमिशनतन्त्र मौलाएकोले विकासमा पछि परेको बताउँदै ओली सरकारको कृयाकलाप पञ्चायतको नयाँ संस्करण जस्तो भएको आरोप लगाए । उनले भिजिट नेपाल २०२० देशलाई परिचित गराउन महत्त्वपूर्ण कार्यक्रम भए पनि नेपालमा पर्यटकहरू किन आउँछन् त्यसलाई सरकारले ठम्याउन नसकेको बताउँदै भिजिट नेपालको नाममा पृथ्वी नारायण शाहले तत्कालिन नेपालमाथि आक्रमण गर्दा हिंडेको मार्गमा सेनालाई मार्च गराएर आन्तरिक औपनिवेशीकरणको झल्को दिएको बताए ।

पर्यटन वर्षमा हिमाल हेर्न आउनेहरूका लागि हिमाली पदयात्रा र संस्कृति हेर्न आउनेहरूका लागि विश्व सम्पदाको साँस्कृतिक ट्रेलको व्यवस्था गरेको भए राम्रो हुन्थ्यो भन्दै श्रेष्ठले जनताको लागि सरकार, उत्पीडितको लागि सरकारको अनुभूति दिलाउन सक्नुपर्ने बताए ।

नेता श्रेष्ठले संघीयतामा देश जानुको मुख्य कारण नेपालको विविधतालाई सम्बोधन गरी राष्ट्रिय एकता मजबुत गर्नका लागि भएको बताउँदै नेकपाले जय पराजयको इतिहास कोट्याएर देशमा विभाजनको रेखा कोर्न खोजेको आरोप लगाए । उनले सामन्ती राजा महाराजाहरूको जयजयकार गर्नेहरू कम्युनिष्टको नाममा कलंक भएको बताउँदै आवधिक रूपमा जनादेश पाएको कुरा भुलेर सिंहदरबार सँधैका लागि बिर्ता पाएजस्तो नठान्न नेकपालाई आग्रह गरे ।

Visits: 771