समृद्धिको सपना देखाउने ओली भ्रष्टाचारको पोखरीमा चुर्लुम्म डुबेका छन्ः सुनुवार

तानसेन । समाजवादी पार्टीका केन्द्रीय सदस्य नवीनकुमार सुनुवारले नेकपाले पहिचानसहितको प्रदेश दिन्छ भनेर हस्ताक्षर तथा ज्ञापन–पत्र बुझाइएको देख्दा आफू अचम्ममा पर्ने गरेको बताएका छन् ।

समृद्धिको रुमानी सपना देखाएर भ्रष्टाचारको ‘गुहे पोखरी’मा चुर्लुम्म डुबेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र ओली नेतृत्वको सरकारले कहिल्यै पनि पहिचान नदिने उनले प्रष्ट पारे ।

प्रधानमन्त्री ओली नै सबभन्दा बढी पहिचानविरोधी भएको नेता सुनुवारले बताए ।

आइतबार तानसेनमा आयोजित समाजवादी पार्टीको तानसेन नगरपालिकास्तरीय संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) कार्यक्रममा प्रदेश ५ का सहइन्चार्जसमेत रहेका नेता सुनुवारले सो कुरा बताएका हुन् ।

उनले नेपालमा पहिचानसहितको संघीयता, समानुपातिक समावेशी, धर्मनिरपेक्षतालगायत विषय उठाउने एकमात्र पार्टी समाजवादी नै रहेको जिकिर गरे । उनले जातीय समुदायको सामाजिक सांस्कृतिक पहिचान र समान अधिकार चाहनेहरु समाजवादी पार्टीमा लाग्नुपर्ने बताए ।

प्रेम बुढा मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजवादी पार्टी प्रदेश ५ की सचिव हिमानी थापा, समाजवादी पार्टी पाल्पा जिल्ला समन्वय समितिका अध्यक्ष मेहरमान राना लगायतको उपस्थिति थियो । कार्यक्रम अमरिका थापाले सञ्चालन गरेकी थिइन् ।

सो अवसरमा लोचन श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समाजवादी पार्टी तानसेन नगर समितिको पुनर्गठन गरिएको छ । सोही कार्यक्रममा नेकपा र कांग्रेसका सक्रिय कार्यकर्ताहरु समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपाका खिमबहादुर चौहान, कांग्रेसका तलबहादुर थापा, त्रिलोचन श्रेष्ठ, सिना राना, सञ्जु राना, विमल थापा लगायत समाजवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई केन्द्रीय सदस्य सुनुवारले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

News courtesy: wwwsarbajanik.com

Visits: 344