प्रम ओलीकै घरबाट कमिशनको सेटिङः डा.बाबुराम भट्टराई, नेकपा नेता गौतमसहित दर्जनौ समाजवादीमा प्रवेश

हुम तमु
पोखरा, १० फागुन, समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै घरबाट कमिशनको सेटिङ हुने गरेको आरोप लगाउनुभएको छ। समाजवादी पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियान उद्घाटन तथा जनसंगठनहरु समायोजन कार्यक्रमको शनिबार पर्वतमा उद्घाटन गर्नुहुदै प्रमुख अतिथि अध्यक्ष भट्टराईले ओली सरकारका सुचना तथा संचार मन्त्री एवम प्रवक्ता, ओलीका प्रिय पात्र गोकुल बास्कोटाले ओलीकै घरमा बसेर सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका बारेमा ७० करोड कमिशनको डिलिङ गरेको दावी गर्नुभयो। कमिशन सेटिङको अडियो बाहिरिए पछि हाल राजीनामा दिएका प्रम ओलीका प्रिय गोकुल बास्कोटा ओलीकै घरमा बस्छन भनेको सुनेको छु, तर मैले आफ्नै आँखाले भने देखेको छैन, पुर्वप्रधानमन्त्री भट्टराईको भनाई थियो।

बाँस्कोटाको कमिशन सेटिङको अडियोको बारेमा प्रधानमन्त्रीलाई दुई महिना अघि नै थाहा भएर पनि चुप लागेर बस्नु कमिशनको खेलमा ओलीको संग्लनता भएको डा.भट्टराईले आशंका व्यक्त गर्नुभयो।बास्कोटा एक्लैले यो आँट गरेका छैनन, घटनामा प्रधानमन्त्री ओली चोखो छैनन, चुकेकै छन्। घटनाको गहन अनुसन्धान जरुरी छ, भ्रष्टचार अन्त्य नगरेसम्म सुशासनको संभावना नरहेको भट्टराईले बताउनुभयो।

डा.भट्टराईले ओलीले आफ्नै मुखमा थुकेको आरोप लगाउनुभएको छ। प्रधानमन्त्री ओलीले फागुन ३ गते आफूमाथि औंला ठड्याउने दुस्साहस गर्दा फागुन ८ गते कमिशन सेटिङको बास्कोटा प्रकरणले आफ्नै मुखमा थुकेको जस्तै भएको छ। प्रधानमन्त्रीलाई ओलीलई थाहा हुनुपर्ने हो आकाशतिर फर्केर थुक्दा आफैँलाई पर्छ भने, डा. भट्टराईको भनाई थियो। प्रधानमन्त्री ओली आफैँ भ्रष्टाचारजस्तो फोहोरको गन्हाउने थुप्रोमा बसिरहेर सुशासन र समृद्धि आउदैन भ्रष्टचार अन्त्यका लागि समाजवादी आन्दोलन जरुरी रहेको उहाँको जोड थियो। एनसेल काण्ड, वाइड बडी, यति काण्ड हुँदै अहिले प्रिन्टिङ प्रेसको काण्ड त फुत्त बाहिर आयो नि, पापको घैँटो फुटेको त हामीले देखिरहेका छौं भन्नुहुदै आन्दोलनका लागि पार्टीमा संगठित हुन उहाँको आग्रह थियो। काँग्रेस पनि उस्तै भएकाले प्रमुख प्रतिपक्षी भएनी बोल्न नसक्ने भएकाले आन्दोलनको अगुवाई समाजवादी पार्टीले गर्नुपर्दछ भट्टराईले जोड दिनुभयो। यस्तै यस्तै घटनाहरुले दुई तिहाइ बहुमत प्राप्त नेकपा नै ओरालो बाटो लागेका कारण अबको वैकल्पिक शक्ति समाजवादी पार्टी मात्र भएकोे दाबी गर्नुहुदै असल राजनीतिक बिउ लिएर समाजवादी जनता सामु आएका छौं भन्नुभयो। संघीयता, सुशासन, समृद्धि र समाजवादको एकिकृत रूप समुन्नत संघीय समाजवादी सिद्धान्त समानुपातिक र समावेशी लोकतन्त्रको पक्षमा समाजवादी पार्टी भएको भट्टराईले स्पष्ट पार्नुभयो। सबै विभेद अन्त्य, पहिचान, अधिकार सुनिश्चितता, समतामुलक समाज निर्माण र सबैले अपनत्व गर्ने राज्य, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समावेशीतापुर्ण संसदका आवाश्यकतामा जोड दिनुहुदै हिमाल पहाड तराई मधेश जोड्ने राष्ट्रियतासहितको उज्जल भविष्य भएको पार्टीले सशक्त बनाउन विचार र संगठन चुस्त दुरुस्त र व्यवस्थित बताउन लागि परेको बताउनुभयो। राजनीतिक संगठन नै विचार र संघर्षको हतियार भएकाले बैकल्पिक राजनीतिक शक्ति स्थापना गर्न पार्टी नेता, कार्यकतालाई आउदा चुनावमा एक नम्बरको पार्टी बनाउन सक्रियताका साथ जुट्न निर्देशन समेत अध्यक्ष डा.भट्टराईले दिनुभयो।

कार्यक्रममा नेकपा सचिवालय सदस्य ढाकाराम गौतम, नेता कृष्णप्रसाद गौतम, दुर्गाबहादुर कुवँर लगायत र नेपाली काँग्रेसका युवा नेता इश्वर श्रेष्ठसहित दर्जनौ कार्यकर्तालाई अबिर लगाएर भट्टराईले समाजवादी पार्टीमा प्रवेश गराउनुभएको थियो।

नवप्रवेशी नेकपा पर्वतका सचिवालय सदस्य ढाकाराम गौतमले भ्रष्टचारमा चुर्लुम्म डुवेको नेकपा सरकार र नेताहरुको साझी बन्न नसक्ने भन्दै पार्टीबाट विद्रोह गरेर समृद्ध मुलुक निर्माणको मार्गमा हिडेको समाजवादी पार्टीमा प्रवेश गरेको बताउनुभयो।सहिदको बलिदान र सहिद परिवारको अपमान गर्ने कम्युनिष्ट पार्टी, गणतन्त्र र सुशासनलाई खिल्ली उडाउने कम्युनिष्ट पार्टीमा बस्नु मुलुक र जनताप्रति घात गरेको आत्मग्लानी भएकाले आफुहरु समाजवादी अभियानमा लाग्ने प्रण गरेको उहाँको भनाई थियो। धेरै चुनौती आउछन, चुनौतिको सामना गर्दै दलाल, भ्रष्टचारीको विरुद्ध सुशासन र समृद्धिका निम्ती समाजवादी पार्टीलाई एक नम्बरको पार्टी बनाउने खट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। मधेशमा हामी सबैभन्दा बलियो पार्टी छौं, अब पहाडमा केही प्रयत्न गरे समाजवादी सबैभन्दा शक्तिशाली पार्टी बन्ने उहाँको दावी थियो।

अर्को नवप्रवेशी नेकपाका नेता कृष्णप्रसाद गौतमले ३० वर्ष देखिको कम्युनिष्टमा गरेको लगानी खेरा गएको भन्दै समृद्ध नेपाल निर्माणका लागि विचार, नेता र नेतृत्व राम्रो रहेको समाजवादी पार्टीमा प्रवेश गरेको बताउनुभयो। उहाँले समाजवादी पार्टीको विस्तारका लागि इमान्दारीताका साथ आफु डटिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा समाजवादी पार्टीलाई पर्वतको सबैभन्दा शक्तिशाली पार्टी निर्माण गर्ने भन्दै बिसु अभियानलाई शसक्त बनाउन समाजवादी महिला महासंघ पर्वतको संयोजकमा रामकुमारी तामाङ सहित समिति गठन गरिएको थियो भने युवा समितिको संयोजका नविन श्रेष्ठ, समाजवादी ट्रेड युनियन संयोजकमा खड्ग पुन, दलितमुक्ति महासंघ संयोजकमा सोमनाथ विक र समाजवादी विद्यार्थी युनियन संयोजकमा तेजेन्द्र भट्टराई चयन हुनुभएको छ।

समाजवादी पार्टी केन्द्रीय सदस्य तथा बिसु अभियान पर्वत जिल्ला संयोजक निर्मल जिसीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश इञ्चार्ज गणेशमान गुरुङ, सहइञ्चार्ज तथा प्रदेशसभा सदस्य हरिशरण आचार्य, तमुवान राष्ट्रिय समिति इञ्चार्ज रुद्रबहादुर गुरुङ, दलित मुक्ति महासंघ इञ्चार्ज डिवी नेपाली, गण्डकी प्रदेश अध्यक्ष मोति रिजाल, गण्डकी प्रदेश सचिव पार्वती जिसी, महिला सचिव देवीकुमारी क्षेत्री लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा समाजवादी पर्वतका अध्यक्ष नविन पुनले स्वागत, राष्ट्रिय कलाकार पार्वती जिसी गीत प्रस्तुत, कलाकार सोनिया पुनले नृत्य प्रस्तुत र नेता गोपाल भण्डारीले कार्यक्रम संचालन गर्नुभएको थियो।

News courtesy: http://www.esarokar.com

Visits: 390