प्रधानमन्त्री ओली सरकारमा रहिरहने नैतिक आधार सकियोः वरिष्ठ नेता राई

विजय चाम्लिङ,
काठमाडौं । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधानमा अर्को विकृति थप्नका लागि संविधान संशोधन कार्यदल बनाएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित समाजवादी पार्टीको प्रवास प्रदेश विशेष समितिको घोषणा कार्यक्रममा नेता राईले नेकपाले एउटा व्यक्तिको जिद्दिलाई पुरा गर्न राष्ट्रियसभा सदस्यलाईसमेत प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न कार्यदल बनाएको बताए ।

उनले आफूहरुले संविधानमा भएको विकृति, विसंगति, गल्ती र त्रुटीहरु सुधार गर्न संविधान संशोधन गरौ भन्दा नमान्ने नेकपाले संविधानमा अर्को विकृति थप्नलाई चाहिँ कार्यदल बनाएको आरोप लगाए ।

‘हामीले संविधानमा भएका विकृति, विसंगति, गल्ती, त्रुटीहरु सच्याउनका निम्ति संविधान संशोधन गरौ भन्यौ । गर्छु भनेर नेकपाका दुईटाहरुले कागज गर्नुभो । हामी सरकारमा गयौ । त्यो टर्दै गयो, टार्दै जानुभो टार्दै जानुभो । हाम्रो अध्यक्ष (तत्कालीन कानुनमन्त्री उपेन्द्र यादव)ले संविधान संशोधनका लागि छलफल सुरुवात गर्न एउटा कार्यदल बनाऔ भनेर प्रस्ताव लानुभो । हुँदैन हुँदैन के को कार्यदल ? भन्नुभो । त्यसपछि हामी सरकारबाट विदा भयौ,’ नेता राईले भने, ‘अहिले अर्को कार्यदल बनेको छ । त्यो चाहिँ संविधानको विकार, विकृतिहरु हटाउन होइन, अर्को एउटा विकृति थप्नका निम्ति, कुनै एउटा नेताको जिद्दि जिरहलाई पुरा गर्नका निम्ति राष्ट्रियसभामा भएका सदस्यहरु पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न कार्यदल गठन गरिएको छ । यो कति हाँस्यास्पद छ ? यो प्रहसन जस्तै भएन त ?’

नेकपाले चुनाव हारेका पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिमार्फत राष्ट्रियसभा सदस्यमा मनोनित गराउने र गौतमकै जिद्दि अनुसार राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्नका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको विषय नेता राईले हाँस्यास्पद भएको बताएका हुन् ।

‘हामी सबैका लागि संविधानको स्वीकार्यता होस्, संविधानमा धेरै विकृति विभेदहरु छन्, कतिपय जातिवादी व्यवस्थाहरु पनि छन् भनेर संविधान सुधार्न खोज्छौ, मान्दैनन् । अनि अर्को एउटा विकृति थप्नका लागि कार्यदल बनाउँछ,’ नेता राईले भने, ‘यो उल्टो मति उल्टो गति भएन त ?’

प्रधानमन्त्री मान्छे हँसाउँदै हिडेका छन्
नेता राईले आफूले हाँस्यकलाकारहरुको ‘कमेडी च्याम्पियन’ कार्यक्रम हेरेको प्रसंग निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हाँस्यकलाकार जस्तो मान्छे हसाउँदै हिडेको बताए ।

‘हाँस्यकलाकार धुमुस र सुन्तलीचाहिँ घर बनाएर हिडेका छन्, क्रिकेट स्टेडियम बनाएर हिडेका छन् । अनि त्यो बनाउनुपर्ने प्रधानमन्त्रीचाहिँ मान्छे हँसाएर हिडेका छन्,’ नेता राईले भने, ‘यो देशमा मान्छेले काम नचिनेको हो कि कामले मान्छे नचिनेको ? यो हाँसोको विषय भएन त ?’

उनले देशको प्रधानमन्त्री र सरकारप्रति हाँस्यकलाकारहरुको बुझाई यही किसिमको रहेको बताए ।

सपना देखाउनु अपराध होइन, देखाएर झुक्याउनु अपराध
नेता राईले प्रधानमन्त्री ओलीले यति सपना देखाइसके यति सपना देखाइसके कि अब आउने नेताहरुले सपना देखाउने ठाउँ नै बाँकी नरहेको बताए ।

‘सपना देख्नु अपराध पनि होइन । तर, सपना बाँडेर जनता झुक्याउनुचाहिँ अपराध हो । उहाँले यति सपना देखाइसक्नुभो, यति सपना देखाइसक्नुभो अब आउने नेताहरुको लागि सपना देखाउने ठाउँ पनि बाँकी नरहने गरी देखाइसक्नुभो,’ नेता राईले भने, ‘एक दशकपछि हुने विकास पनि भन्देको छ, एक शताब्दीपछि हुने पनि भन्देको छ । चन्द्रमामा मान्छे पठाउने चाहिँ किन नराख्नुभको हो त्यो चाहिँ मलाई आश्चर्य लागेको छ । किनभने कुनै न कुनै दिन नेपालले त्यो पनि त प्रयत्न गर्नुपर्छ ।’

ओली प्रधानमन्त्री रहिरने नैतिक आधार सकियो
नेता राईले फन्टुस विकासको गफ गर्दै हिड्ने प्रधानमन्त्री ओली नेतृत्वको सरकार असफल भइसकेको जिकिर गरे । उनले प्रधानमन्त्री ओलीलाई सरकारमा रहिरने नैतिक आधार नै नरहेको बताए ।

‘सरकार मुलुकको पुँजीगत बजेट खर्च गर्न नसक्ने स्थितिमा छ । अस्ति संसदमा अर्थमन्त्रीजीले १ खर्ब १५ अर्ब विकास बजेट खर्च गर्न नसक्ने भनेर फिर्ता गर्ने प्रस्ताव संसदमा लिएर जानुभो । वास्तवमा भन्ने हो भने सरकार फेल भइसक्यो,’ उनले भने, ‘जब आफूले प्रोजेक्ट गरेको बजेट खर्च गर्न सक्दिनँ भनेर संसदमा सरेन्डर (आत्मसमर्पण) गर्छ भने उनीहरुसँग सरकारमा रहिरनुपर्ने नैतिक आधार हुँदैन ।’

नेता राईले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस कमजोर भएको र आन्तरिक कलहले यसतर्फ उनीहरुको ध्यान नै नगएको बताए ।

उनले भने, ‘तर, सौभाग्यशाली हुनुहुन्छ प्रधानमन्त्रीजी । किनभने प्रमुख प्रतिपक्षी यति कमजोर छ कि सहयोगी छ भनौ प्रतिपक्षीको यतातिर ध्यान जादैन, आफ्नाे आन्तरिक कलहमा व्यस्त छ ।’

भोट नदिएकोमा गुनासो
नेता राईले सबै नेता र पार्टीहरुलाई एउटै डालोमा राखेर हेर्ने जनताप्रति गुनासो पनि पोखे । जनताले आफ्नाे पार्टीलाई मत नदिएकोतर्फ इंगित गर्दै उनले गुनासो गरेका हुन् ।

‘कहिलेकाही नेपाली दाजुभाई दिदीबहिनलाई गुनासो पोख्न मन लाग्छ । यो भएन त्यो भएन भनेको छ, सबै नेता र पार्टीलाई एउटै डालोमा हालेको छ । त्यो अलिक बढी नकारात्मक भयो,’ उनले भने, ‘जनताले पनि ख्याल गर्नुपर्यो, विकास चाहिने भए विकास गर्ने खालको पार्टीलाई जिताउनुपर्यो । विकास गर्ने खालको नेतालाई जिताउनुपर्यो । दुध खाने हो भने गाई पाल्न परेन ? गधा पाल्ने अनि दुध खान पाइन भनेर गुनासो गरेर हुन्छ ?’

– News courtesy: www.sarbajanik.com

Visits: 372