भारतमा भाषा र जातिकाे आधारमा प्रदेशहरु बनाइएको छः अध्यक्ष यादव

नदीनालाको पहिचान कायम गर्न बलिदान दिएको हो र ?

विजय चाम्लिङ,
काठमाडौं । २५ फेब्रुवरी २० । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले पहिचानसहितको संघीयताविरोधीहरुलाई लक्षित गर्दै भारतलगायत विश्वका धेरै मुलुकहरुमा जाति र भाषाका आधारमा प्रदेशहरु बनाइएको बताएका छन् ।

मंगलबार काठमाडौंमा समाजवादी पार्टीको प्रवास विशेष प्रदेश समितिको घोषणा गर्दै अध्यक्ष यादवले छिमेकी मुलुक भारतमा जाति र भाषाको आधारमा बनाइएको प्रदेशहरुको नाम लिए ।

‘भारतमा पनि भाषा, जाति र भुगोलको आधारमा प्रदेशहरु बनाइएको छ । मिजोरम, नागाल्याण्डजस्ता प्रदेशहरु जातिका आधारमा छन् । बंगाल, तामिलनाडुजस्ता प्रदेशहरु भाषाका आधारमा छन् । उत्तर प्रदेश, मध्ये प्रदेश जस्ता भौगोलिक आधारमा प्रदेशहरु बनाइएको छ,’ उनले भने, ‘तर, नेपालमा चाहिँ जुन समुदायले अढाइसय वर्षदेखि राज्य गरिआयो, यो संघीयतालाई पनि कसरी हुन्छ आफ्नै पकडमा कायम राख्ने ध्येयले मात्र प्रदेशहरुको संरचना गरिएको छ ।’

उनले नेपाल बहुराष्ट्रिय राज्य भएको र यहाँको विधितालाई सम्बोधन गर्नका लागि नै पहिचानको आधारमा प्रदेश संरचनाहरु बनाउनुपर्ने बताए ।

‘नेपालमा रहेका विविधताहरुलाई सम्बोधन गर्न नै संघीय प्रणाली चाहिएको हो,’ अध्यक्ष यादवले भने, ‘नेपालमा विभिन्न राष्ट्रियताहरु छन् । नेपाल बहुराष्ट्रिय राज्य हो । धेरै राष्ट्रियताहरु भएपछि तीनका भाषा पनि हुनेभो, संस्कृति पनि हुनेभो, पहिचान पनि हुनेभो, तिनका इतिहास पनि छ । ती समुदायलाई सम्बोधन गर्न उनीहरुको पहिचानको आधारमा संघीय राज्यको प्रादेशिक संरचनाहरु बनाउनुपर्छ, जो धेरै मुलुकमा बनाइएको छ, भारतमा पनि भाषा, जाति र भुगोलको आधारमा प्रदेशहरु बनाइएको छ ।’

उनले नेपालका आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिलाजस्ता उत्पीडित समुदायको संख्या जोड्दा दुई तिहाईभन्दा बढी विभेदमा पारिएको अवस्थामा रहेको र विभेदकै अवस्थामा देश कहिल्यै पनि समाजवादउन्मुख हुन नसक्ने जिकिर गरे ।

‘लोकतान्त्रिक प्रणालीमा पनि विभेद भयो भने त्यसलाई लोकतन्त्र मानिदैन,’ उनले भने, ‘आदिवासी जनजाति, मधेसी, दलित, अल्पसंख्यक, महिला सबै एकठाउँ पार्ने हो भने दुई तिहाई भन्दा ठूलो जनसंख्या हुन्छ । ती राजनीतिक रुपले उपेक्षित छ, शक्तिमा न्यायोचित प्रतिनिधित्व छैन । आर्थिक रुपले अत्यन्त शोषित र सामाजिक रुपले अपहेलित र अपमानित जिवन बाँच्न विवश भएको अवस्थामा यी विभेदहरुलाई बोकेर हिडेर कस्तो खालको समाजवाद आउँछ ? दुनियाँमा कही आउँदैन, नेपालमा आउनै सक्दैन ।’

संविधानमा देशलाई समाजवादउन्मुख भनिएकोतर्फ लक्षित गर्दै यादवले भने, ‘समाजवादउन्मुख गर्नको लागि पहिलो सर्त यी विभेदहरु चाहे ती वर्ण चतुरवर्णका आधारमा भएका विभेदहरु हुन्, जसमा दलित र महिला बढी विभेदमा परेका छन्, वर्गको आधारमा विपन्न वर्गहरु विभेदमा छन्, त्यसको अन्त्य नै समाजवादउन्मुख हुनका लागि पहिलो सर्त हो । त्यो अन्त्य गर्न एकात्मक र केन्द्रिकृत प्रणालीबाट सम्भव छैन ।’

उनले नेपालका कम्युनिष्टहरु बिग्रेर महेन्द्रवादी भएको बताए ।

‘अहिले भन्न त यहाँ कम्युनिष्टहरु छन् । माक्सवादी, लेनिनवादी, खाओवादी के के हुन्छन् हुन्छन् । तर यथार्थमा ती महेन्द्रवादी हुन् । महेन्द्र बरु यिनीहरुभन्दा प्रोग्रेसिभ थिए । महेन्द्र र अहिलेको कम्युनिष्ट तुलना गर्ने हो भने महेन्द्रले केही राम्रा काम पनि गरेका थिए,’ उनले भने, ‘महेन्द्रले देखाएको बाटोमा यी बिग्रेका कम्युनिष्टहरु दौडिरहेका छन् । प्रदेशको नाम राख्दा बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश राखेका छन् । नदीनालाको पहिचान कायम गर्न मान्छेले बलिदान दिएको हो र ?’

उनले निर्वाचन हारेका वामदेव गौतमजस्ता मान्छेलाई मुलुकको कार्यकारी प्रधानमन्त्री बनाउने प्रयास गरेको भन्दै कम्युनिष्टहरुले नेपालमा रहेको भनिएको संसदीय व्यवस्था समेत समाप्त पार्न खोजेको आरोप लगाए ।

– News courtesy: www.sarbajanik.com

Visits: 602