युवाहरुलाई शिपसहितको रोजगारी दिनुपर्दछः मुख्यमन्त्री राउत

जनकपुरधाम । ४ मार्च २०२० । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले युवाहरुलाई शिप सहितको रोजगारी दिनु आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बुधबार जनकपुरमा आयोजना गरेको स्वरोजगार कर्जा सम्बन्धि प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले युवाहरुलाई शिप सहितको रोजगारीमा लगाउनुपर्ने बताएका हुन् ।

मानव संशाधन सबै भन्दा ठूलो शक्ति भए पनि त्यसलाई मुलुकले अहिलेसम्म परिचालन गर्न नसकेकै कारण मुलुक गरिब भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले युवाहरुलाई शिप सहितको रोजगारी दिन सकिए समृद्धि सम्भव रहेको विश्वास समेत व्यक्त गरे ।

युवाहरुलाई शिपयुक्त बनाउन प्रदेश सरकार प्राविधिक विश्वविद्यालयको अवधारणालाई अघि बढाएको बताउँदै मुख्यमन्त्री राउतले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको लक्ष्य लिएको बताए ।

स्वारोजगारको नाउमा उपलब्ध गराउने ऋणमा रहेको झन्झटिलो प्रक्रियाले लक्षित वर्गहरु सुविधा प्राप्त गर्न नसकेको टिप्पणी गर्दै उनले स्वरोजगारको लागि दिइने कर्जाको प्रक्रिया सहज गर्न कोष लाई सुझाव समेत दिए ।

कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव रामकृष्ण सुवेदी, युवा तथा खेलकुद मन्त्रालयका सचिव, राष्ट्रबैंक जनकपुरका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।

News source: www.sarbajanik.com

Visits: 429