कोरोनाविरुद्ध लड्न बाबुराम लगायत १७ जनाले जन्माए ‘कोमविसाप’ (भिडियो सहित)

२२ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता प्रदीप गिरीसहित विभिन्न पेसा, व्यवसायमा संलग्न झण्डै डेढ दर्जन व्यक्तिहरूले कोरोनाविरुद्धको सरकारको लडाइँमा सघाउने उद्घोष गरेका छन् ।

१७ व्यक्ति सम्मिलित समूहले शनिबार कोरोना महाव्याधि विरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप) जन्माउँदै कोरोनाविरुद्धको लडाइँमा सरकारलाई सघाउने उद्घोष गरेकाे हाे ।

अभियानमा बाबुराम भट्टराई, प्रदीप गिरीसहित व्यवसायी कृष्ण आचार्य, अर्थशास्त्री डा. कल्याणराज शर्मा, संविधानसभा सदस्य डा. कल्याणराज शर्मा, सूचना प्रविधि विज्ञ दोभान राईलगायत छन् । सार्वजनिक क्षेत्रका इच्छुक विज्ञ तथा स्वयंसेवी युवाले जोडिन चाहेमा पछि थप गरिने अभियानमा संलग्नमध्येका एक विश्वदीप पाण्डेले जानकारी दिए ।

अभियानले एक विज्ञप्ति जारी गर्दै कोरोना महाव्याधिका कारण सिर्जित बहुआयामिक संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न संगठित प्रयास थालिएको जनाएको छ ।

अभियानले आमजनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्नुका साथै निगरानी एवं अनुगमन तथा मूल्यांकन गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सरकारले गरेका कार्यहरुलाई रचनात्मक तरिकाले सहयोग पुर्‍याउने, आफ्नो आफ्नो स्थानबाट जनस्वास्थ्य, अर्थ लगायतका विभिन्न कोणहरुबाट आवश्यक सुझावहरु सम्बन्धित निकायसम्म प्रभावकारी ढंगले पुर्‍याउने उद्देश्यका साथ यो पहलको सुरुवात गरिएको हो,’ कोमविसापद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस पहललाई संयोजन गर्न केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म संयोजन समितिहरु बनाउने अभियानले जनाएको छ ।

कोरोना बिशेष कुराकानी:

Visits: 475