समाजवादी र राजपाबीच एकता भएकोबारे नेताहरूद्वारा सभामुखलाई जानकारी

काठमाडौँ — २३ अप्रिल २०२० । समाजवादी पार्टी र राजपाबीच एकता भएर जनता समाजवादी पार्टी गठन गरिएको जानकारी उक्त दलका नेताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई दिएका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नेताहरू सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए ।

पार्टी एकता भएको जानकारी संघीय संसद सचिवालयलाई पत्र लेखेर गरिएको छ। उक्त पत्र राजपा अध्यक्ष मण्डलका सदस्य रहेका राजेन्द्र महतोले कार्यवाहक महासचिव गोपालनाथ योगीलाई बुझाएका थिए।

सभामुखलाई पार्टी एकताको जानकारी दिनका लागि नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायत सिंहदरबार पुगेका थिए। राजपा र समाजवादीबीच बुधबार राति एकता भएको हो।

संसदमा छुट्टाछुट्टै कार्यालय रहेका समाजवादी र राजपाका कार्यालयदेखि अन्य व्यवस्था अब एकीकृत हुनेछन्। संसद बैठकमा पनि बस्ने ठाउँ अब एउटै हुने भएको छ। त्यसका लागि संसद सचिवालयलाई पत्र लेखेर औपचारिक जानकारी दिइएको हो।

एकता प्रक्रिया निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त भएपछि टुंगिने छ। त्यसपछि आयोगले संसदलाई जानकारी दिएपछि सभामुख र सचिवालयले अन्य व्यवस्था गर्नेछ।

संघीय संसद प्रतिनिधिसभामा राजपा र समाजवादीका १७-१७ जना सांसद छन्।

– News courtesy: ekantipur.com

Visits: 3667