प्रधानमन्त्रीले ‘स्टप’ भनेपछि यादवको संविधान संशोधन प्रस्ताव रोकियो, यस्तो थियो प्रस्तावहरु

काठमाडौं । ७ पुस २०७६, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टप इट’ भनेपछि संविधान संशोधन गर्ने उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रस्ताव मन्त्रिपरिषद बैठकमा प्रवेश हुनबाट रोकिएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकको अन्त्यमा कानूनमन्त्री समेत रहेका यादवले संविधान संशोधनको लिखित प्रस्ताव पेश गर्न खोजेको थिए ।

मन्त्रिपरिषद स्रोतका अनुसार नियमित एजेण्डामा छलफलपछि बैठक सकिने बेला उपप्रधानमन्त्री तथा कानुनमन्त्री यादवले ‘प्रधानमन्त्रीज्यू, मेरो एउटा प्रस्ताव छ’ भन्दै बन्द खाम टेबुलमा राखेका थिए । प्रधानमन्त्रीले के प्रस्ताव हो ? भनेपछि उनले संविधान संशोधनबारे भएको बताए ।

यादवले त्यति भन्नासाथ प्रधानमन्त्री ओली ‘स्टप इट’ भन्दै धाराप्रवाह बोल्न थाले । देशको नेतृत्व गरेको सत्ता सञ्चालक पार्टीसँग छलफल नगरेको र मन्त्रिपरिषदमा प्रस्ताव ल्याउने प्रक्रिया समेत नपुर्‍याई प्रस्ताव ल्याउन खोजिएको भन्दै प्रधानमन्त्रीले त्यसमाथि छलफल होइन बैठकमा प्रवेश नै नहुने बताए ।

प्रधानमन्त्रीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘मादल बजेपछि नाच्न आउने जो पनि हुन्छन् भन्ने कुरा विचार गर्नुपर्छ । यो संविधान संशोधनको मादल बजाउने बेला होइन । एकपटक संशोधन गरेर देश विदेश सबैतिरबाट स्वीकार्य बनाइएको हो । बारम्बार क्याबिनेटले गर्ने विषय होइन, यो प्रक्रिया पनि मिलेन, स्टप इट ।’

प्रधानमन्त्री यतिमा रोकिएनन् । उनले संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति हुनुपर्ने भन्दै एउटा मन्त्रीले प्रस्ताव ल्याउने विषय नभएको प्रष्ट पारेका थिए । राजनीतिक स्टन्ट र बजारी खपतका लागि यस्ता प्रस्ताव नल्याउन समेत प्रधानमन्त्रीले उपप्रधानमन्त्री यादवलाई सुझाएको एक मन्त्रीले बताए ।

प्रधानमन्त्रीको भनाइ थियो-संविधान संशोधनको कुरा यसरी क्याबिनेटमा ल्याउन मिल्दैन । एउटा मन्त्रीले ल्याउने प्रस्ताव होइन । कि प्रमले ले भन्नुपर्‍यो कि त प्रमुख राजनीतिक शक्तिहरुबीच सहमति हुनुपर्‍यो । जुन पार्टीले यो देशमा नेतृत्व गरेको छ, त्यो पार्टीमा यसबारे छलफल नै भएको छैन ।’

प्रधानमन्त्री संविधान संशोधनप्रति कठोर देखिएको बैठकमा सहभागी एक मन्त्रीले बताए । संविधान संशोधन हुनै नसक्ने होइन तर यसरी ल्याउने प्रक्रिया मिलेन भनेको एक मन्त्रीले बताए ।

प्रधानमन्त्री संविधान संशोधनको प्रस्तावनै अश्वीकार गरेपछि उनीबीच बैठकमा चर्काचर्की भएको थियो । उनले संविधानको कुनकुन धारामा संशोधन गर्ने भन्ने प्रस्ताव लगेका थिए भन्ने चाहिँ खाम नै नखोलिएकाले कसैले थाहा पाएनन् । उनले राजनीतिक एजेण्डाका रुपमा ठाडो प्रस्ताव लगेको बताइएको छ ।

प्रधानमन्त्रीले उनको प्रस्ताव नै खारेज गरिदिएपछि अब समाजवादी पार्टी के गर्छ ? यो प्रश्न उठेको छ । यद्यपि प्रधानमन्त्री निकट स्रोतले भने समाजवादी सरकारबाट बाहिरिएमा राजपा भित्रिने बताएको छ । यसअघि सरकारका प्रवक्ता गोकुल बास्कोटाले राजपा संघीय सरकारमा सामेल हुन सक्ने संकेत गरेका थिए ।

हुन त सुविधाजनक बहुमत रहेको नेकपालाई समाजवादी पार्टी वा राजपालाई सरकारमा सहभागी नगराउँदा पनि फरक पर्दैन । तर मधेस राजनीतिमा नेकपाको भूमिका बढाउन प्रधानमन्त्रीले सरकारमा रहेको समाजवादीलाई भन्दा सरकार बाहिर रहेको राजपालाई नजिक राखिरहेका छन् ।

पछिल्लो समय राष्ट्रियसभामा राजपासँग दुईबुँदे सम्झौता गर्दा पार्टीका अधिकांश नेतालाई समेत थाहा थिएन । स्थायी कमिटी बैठक चलिरहेको बेला बालुवाटारमा गुपचुप सम्झौता गरिएको भन्दै माधव नेपाल, भीम रावल लगायतका नेताले आपत्ति जनाएका थिए ।

तर प्रधानमन्त्री निकट स्रोतले भने यस्ता सम्झौता पार्टी बैठकमा छलफल गराएर नहुने बतायो ।

– मात्रिका पौडेल
२०७६ पुष ७ गते २२:०७ मा प्रकाशित
News source: onlinekhabar.com

Visits: 775