जुगजुगसम्म सत्ता रहन्छजस्तो गरेर सरकारले नियन्त्रणकारी कानुन बनाउँदैछ

काठमाडौं । ५ जनवरी २०२० । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले जुगजुगसम्म आफ्नै सत्ता रहिरहनेजस्तो गरी अहिलेको केपी ओली सरकारले घातक र नियन्त्रणकारी कानुन बनाउन खोजेको बताएका छन् ।

शनिबार काठमाडौंको टेकुमा आयोजित समाजवादी पार्टीनिकट ‘नेपाल बौद्धिक पेसाकर्मी महासंघ’को घोषणासभामा नेता राईले सरकारले संसदमा ल्याएका विधेयकहरु घातक र नियन्त्रणकारी रहेको बताए । ‘जुगजुगसम्म आफ्नै सत्ता हुन्छ जस्तो गरेर सरकारले नियन्त्रणकारी कानुन बनाउन खोजिरहेका छन्,’ उनले भने, ‘यसलाई बौद्धिक पेसाकर्मी साथीहरुले सही ढंगले विश्लेषण गरेर मिडियामा ल्याउनुपर्छ ।’

सरकारले नेपाल ट्रष्टको सम्पति गोकर्ण रिसोर्ट यति कम्पनीलाई सुम्पिनका लागि सातसात चोटि ऐन संशोधन गरेर सरकारले भ्रष्टाचारको नांगो गतिविधि देखाइरहेको बताए ।

उनले भने, ‘गोकर्ण रिसोर्ट सात सात चोटि ऐन नियम कार्यविधि संशोधन गरेर नेपाल ट्रष्टको सम्पति व्यक्तिलाई दिएर सरकारले यो खालको नांगो गतिविधि देखाइरहेको छ । यो कुरा जनताको तहमा आउनुपर्छ ।’

Visits: 1112