नख्खु खोलाकाे जग्गाकाे मामलामा मेरो कुनै संलग्नता छैनः उपेन्द्र यादव

काठमाडौं । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले ‘दृष्टि साप्ताहिक’ र केही अनलाइन मिडियाहरुले राजनीतिक स्वार्थबाट प्रेरित भई आफ्नाे चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै उक्त समाचार सत्य नभएको प्रष्ट पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट शम्भु श्रेष्ठ सम्पादक रहेको दृष्टि साप्ताहिकले केही समयअघि मात्र सरकारबाट बाहिरिएका अध्यक्ष यादवले ललितपुरस्थित नख्खु खोलाको जग्गा अतिक्रमण गरेको समाचार लेखेको छ ।

यादवले आज (मंगलबार) प्रेस विज्ञप्ती निकाल्दै उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । साथै समाचार कपोकल्पित र निराधार भएको प्रष्ट पारेका छन् । दृष्टि साप्ताहिकले उक्त समाचार लेखेपछि समाजवादी पार्टी विरोधी अनलाइनहरुले उक्त समाचार साभार गर्दै यादव विरुद्ध भ्रम सिर्जना गर्न खोजेका छन् ।

‘पत्रकारिताजस्तो मर्यादित् र गरिमामय जगतलाई नै बदनाम र पित पत्रकारिता गर्नु अन्यन्त घातक र घिनलाग्दो दुखद् कुरा हो,’ विज्ञप्तीमा भनिएको छ, ‘कुनै सत्यता नै नभएको आधारहिन असत्य र झुठा, कपोकल्पित एवं भ्रमात्मक तथा पूर्वाग्रही यस्ता समाचारहरुप्रति विश्वास नगर्न र भ्रममा नपर्न सम्पूर्ण जनसमुदायमा अनुरोध गरिन्छ ।’

अध्यक्ष यादवले तथ्यहिन र विना प्रमाणका समाचार नलेख्न सञ्चारमाध्यमहरुसँग आग्रह समेत गरेका छन् ।

Visits: 923