नयाँ राजनीतिक शक्ति कांग्रेस कम्युुनिष्ट जस्तो नेतामुखी होइन नीतिमुखी बन्नु पर्छः श्रेष्ठ

ललितपुर, माघ ३ गते । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नयाँ वैकल्पीक राजनीतिक शक्ति कांग्रेस कम्युनिष्ट जस्तो नेतामुखी होइन, नीतिमुखी बन्नु पर्छ, जनताको बीचमा नेताहरूको ब्रान्ड बोकेर होइन समुन्नत संघीय समाजवादको ब्रान्ड बोकेर जानु पर्छ भन्ने कुरा बताएका छन् । उनले उक्त कुरा ३ नम्बर प्रदेशको संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा बताएको हो ।

सहअध्यक्ष श्रेष्ठले समाजवादी पार्टीमा पुराना पार्टीहरूको मात्र होइन छिमेकी देशको नेतामुखी कार्यशैली नक्कल गर्ने प्रवृत्ति पनि यदाकदा देखापर्ने गरेको बताउँदै समाजवादी पार्टी नयाँ ढंगको पार्टी भएकोले समाजवादी आचरण र व्यवहारसहित फरक रूपमा जनताको बीचमा जानुपर्ने बताए ।

पार्टीको सिद्धान्त समुन्नत संघीय समाजवादबारे बोल्दै उनले भने, ‘समुन्नत संघीय समाजवाद नेपाली विशेषताको समाजवाद हो । यो कम्युनिष्ट पार्टीहरूले भनेजस्तो माथिबाट लाडिएको नोकरशाही प्रवृत्तिको समाजवाद वा राजकीय समाजवाद होइन न त नेपाली कांग्रेसले भने जस्तो लोकतान्त्रिक समाजवादको नाममा उदारीकरण, निजीकरण र भूमण्डलिकरणको यन्त्र वा सुधारिएको पुँजीवाद नै हो । हामीले भनेको समाजवाद व्यक्तिको निजत्व र पहलकद्मी प्रष्फुटित हुने, जगैबाट उठेको र समुन्नत संघीय शासन प्रणाली भएको समाजवाद हो । संघवाद र समाजवाद यसका दुई मुख्य सैद्धान्तिक आधार हुन् ।’

नेता श्रेष्ठले आफ्नो पार्टीले पहिचानसहितको संघीयता, सुशासन र समतामुलक समृद्धिमा जोड दिएको बताउँदै त्यसका लागि समाजवादी पार्टी बलियो हुनुपर्ने बताए ।
नेकपामा बसेर पहिचानको मुुद्दा उठाउनु बयल गाडा चढेर आकाशको फल टिप्नु जस्तै हो ।

नेता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले पहिचान दिन्छ भनेर कतिपय व्यक्तिहरू अझै आशावादी भएकोमा कटाक्ष गर्दै भने, ‘नेकपामा बसेर पहिचानको मुुद्दा उठाउनु बयल गाडा चढेर आकाशको फल टिप्न खोजेजस्तो हो, त्यो सम्भब छैन । प्रचण्डले जनयुद्धको बेला बोकेको पहिचानको झण्डा ओलीको काँधमा विसाएको छ । अब ओली र प्रचण्ड दुबै कर्णाली, गण्डकी हुँदै वागमतीको पहिचान खोज्दै महेन्द्रपथतिर लम्केको छ ।’

गोकर्ण रिसोर्ट प्रकरण, एनसेल प्रकरण, ललिता निवास प्रकरण आदिले के.पि.ओलीको सुशासन र भ्रष्टाचार अन्त्यको राजनीतिक नारा उदांगिएको बताउँदै श्रेष्ठले भने, ‘गोकर्ण रिसर्ट प्रकरणमा नेपाल ट्रष्टको नाममा रहेको सार्वजनिक सम्पतिलाई व्यापारिक प्रयोजनका लागि समेत प्रयोग गर्न दिएर नीतिगत भ्रष्टाचार र कमिशनतन्त्रलाई प्रोत्साहित गरे, एनसेल प्रकरणमा कमिशनखोरहरूसँग सांठगांग गरेर ललिता निवास प्रकरणमा आफ्ना नेता कार्यकर्ताहरूलाई बचाउन मालपोतबाटै कागजातहरू गायब गराए । यस्ता भ्रष्ट आचरण भएका नेताहरूबाट देशमा सुशासन र समृद्धि प्राप्त हुँदैन ।’

नेता श्रेष्ठले सभामुख प्रकरणमा पार्टीको अन्तरविरोध हल गर्न नसकेर देशलाई नै वन्धक बनाएको, सञ्चार क्षेत्रलाई सूचना प्रविधी विधेयक, विषेश सेवा सम्बन्धी विधेयक आदि ल्याएर आतंकित पार्न खोजेको बताए । हिजो कम्युनिष्ट पार्टीलाई मत दिनेहरूले अब हाम्रो मत फिर्ता गर भन्न थालेको बताउँदै नेकपाको गठबन्धनले निर्वाचनमा प्राप्त गरेको जनादेश गुमाइसकेको बताए ।

३ नम्बर प्रदेशका अध्यक्ष सोनाम सिं स्याङ्तानले अध्यक्षता तथा मुख्य सचिव मोहन बराइलीले संचालन गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथि, पार्टीका उपाध्यक्ष तथा ३ नम्बर प्रदेशको अनुगमनकर्ता हिसिला यमीले आफ्नो पार्टीले पहिचानको लागि दश प्लस एकको राज्य पुनर्संरचना आयोगको प्रस्तावलाई समर्थन गरेको मात्र नभई पार्टीभित्र त्यसको संरचनाहरू समेत निर्माण गरेको बताए । उनले आफ्नो पार्टी ३ नम्बर प्रदेश नेवाः ताम्सालिङ हुनुपर्ने पक्षमा रहेको बताउँदै वागमती प्रदेशको घोषणाको विरुद्ध रहेको बताए । उनले पार्टीको चार मुख्य अवधारणा संघीयता, सुशासन, समृद्धि र समाजवाद भएको बताए ।

त्यसरी नै अर्का विशिष्ट अतिथि उपमहासचिव डम्बर खतिवडाले विसु अभियानले पार्टीको मात्रात्मक विकासको लागि विस्तार र गुणात्मक विकासको लागि सुदेढीकरणको अभियान लिएर गाउँ गाउँमा पार्टी निर्माणको कार्य अगाडी बढाउने भन्दै आउने साढे दुईवर्षभित्र देशकै ठूलो पार्टी निर्माण गरेर देखाउने बताए । उनले सबै अभियन्ताहरूलाइै अभियानको लागि अभियान नभई ठोस उपलब्धी हासील हुने गरी काम गर्न अनुरोध गरे । कार्यक्रममा नेवाः राष्ट्रिय समितिको अध्यक्ष मनरत्न शाक्यले स्वागत, गैरभौगोलक विशेष प्रदेशका अध्यक्ष इश्वर रिजालले कार्यक्रमको उद्देश्य र ताम्सालिङ राष्ट्रिय समितिका अध्यक्ष कृष्ण कुमार घलानले धन्यवाद ज्ञापन गरेका थिए । उत्साहपूर्ण वातावरणमा भएको उक्त कार्यक्रममा क्रान्तियोद्धा प्रेमकृष्ण पाठकको पनि उपस्थिति रहेको थियो ।

Visits: 1390