समाजवादी–राजपा एकीकरण प्रकृया अघि बढ्ने

जनकपुरधाम । प्रदेश २ का सत्ता साझेदार समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पुनः एकताका लागि प्रकृया शुरु हुने भएको छ । समाजवादी संघीय सरकार छाड्न तयार नभएकाले एकता प्रकृया ‘क्लोज’ भइसकेको बताउने राजपा नेताहरु नै एकता प्रकृया पुनः शुरु हुने बताएका छन् ।

राजपा अध्यक्ष मण्डल संयोजक महेन्द्र राय यादवले समाजवादी पार्टीसँग एकता हुने बताएका छन् । संघीय सरकारमा नगई समाजवादीसँग एकता गर्ने पार्टीको योजना रहेको उनले बताएका छन् । बिहीबार संघीय राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक यादवले समाजवादीसँग एकता गर्न प्रकृया अघि बढिरहेको बताए ।

‘एकता प्रकृया अगाडि बढिरहेको छ’ कार्यक्रममा उनले भने, “एकता पनि चाँडै हुन्छ ।” समाजवादी पार्टी सरकारमा रहेको बखत यी दुई पार्टीबीच एकता प्रकृया जोड्तोडले चलेको थियो । त्यस बेला पार्टीको झण्डा, चुनाव चिन्हसहित पदाधिकारीमा समेत सहमति जुटिसकेको थियो । तर, राजपाको शर्त थियो, “समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्छ ।” राजपाको यो शर्तबारे समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले पहिला एकीकरण गर्दै त्यसपछि सरकार छाड्ने बताएका थिए । यसपछि राजपाका नेताहरुले एकता प्रकृया नै ‘क्लोज’ भएको बताएका थिए ।

गत पुस ८ गते समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि तत्कालै राजपासँग एकीकरण गर्ने ‘मुड’ मा देखिए । सरकार छाडेपछि काठमाडौंमै समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजपाको शर्त आफूहरुले पूरा गरिदिएको बताएका थिए । राजपाले समाजवादीसँग एकीकरणका लागि सरकारबाट बाहिरिनुपर्ने राखेको शर्त आफूहरुले पूरा गरेको बताउँदै उनले अब राजपासँग एकीकरण हुने बताएका थिए ।

तर राजपाका नेताहरुको प्रतिकृया थियो, “अर्कै अवस्थामा सरकारबाट बाहिरिएकाले एकताबारे पछि छलफल ग¥छौं ।”

राष्ट्रियसभाको निर्वाचनलाई लिएर यी दुबै पार्टीबीच तिक्तता बढेपछि एकताको कुरा झनै गौण बनेको थियो । राष्ट्रियसभाको निर्वाचनमा समाजवादीले कांग्रेससँग र राजपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग गठबन्धन गरेको थियो । नेकपा–राजपा गठबन्धन विजयी भएपछि दुबै पार्टीबीच तिक्तता बढ्ेको थियो ।

सरकारबाट बाहिरिएपछि समाजवादी एकताका लागि सकारात्मक भएपनि राजपाका नेताहरुले ध्यान नदिएको सन्दर्भमा अहिले राजपा अध्यक्ष मण्डलका संयोजक रायले एकता हुने बताएपछि यी दुबै पार्टीबीच एकीकरण हुने प्रकृयाको पुनः थालनी हुने भएको हो । ‘राजपाका एक नेताले भने, “संयोजकसहित अध्यक्ष मण्डलका सदस्यहरु एकतामा सकारात्मक हुनुहुन्छ । त्यहीं भएर यी दुई पार्टीबीच एकताको प्रकृया अगाडि बढ्छ ।”

समाजवादी सरकारबाट बाहिरिएपछि राजपा सरकारमा जाने चर्चा थियो । प्रतिनिधीसभाका सभामुख उम्मेदबार अग्नि सापकोटालाई राजपाले समर्थन गरेपछि राजपा सरकारमा जान लागेको चर्चा भएपछि राजपाका दोस्रो तहका नेताहरुले अध्यक्ष मण्डललाई पत्र बुझाउँदै सचेत गराएका थिए ।

सरकारमा जाने चर्चाकाबीच राजपा अध्यक्ष मण्डल संयोजक रायले मंगलबार काठमाडौंमा बोल्दै आफ्नो पार्टी सरकारमा नजाने बताएका थिए । उनले बर्तमान सरकार पालैपालो मधेशी दललाई बोलाएर प्रलोभनमा पार्न खोजेको प्रतिकृया दिदैं मुद्दाको सम्बोधन नभएसम्म सरकारमा नजाने प्रतिकृया दिएका थिए ।

सरकारमा जानुभन्दा एकता गरेर मुद्दा सम्बोधन गराउनेमा राजपाका अध्यक्ष मण्डल सकारात्मक देखिएको एक नेताले बताए । अहिले समाजवादी पनि एकताका लागि पूर्ण रुपले तयारी अवस्थामा रहेकाले चाँडै एकता हुने नेताहरुको भनाई रहेको छ । ‘एकताका लागि दुबै दल तयार भएपछि चाँडो–चाँडो बैठक बसेर यसलाई निष्कर्षमा पु¥याइन्छ’ उनले भने, “एकीकरणका धेरै काम पहिला नै भइसकेकाले एकीकरणमा समय लाग्दैन् ।”

  • News source: https://ejanakpurtoday.com
  • नोटः यो समाचार पत्रिकामा प्रकाशित समाचार हो । पार्टीको औपचारिक समाचार होइन ।
Visits: 1239