घर जाँदै गर्दा बिचल्लीमा परेकालाई तत्काल उद्धार गर : समाजवादी

काठमाडाैं- ५ वैशाख २०७७ । समाजवादी पार्टी नेपालले सरकारले मजदुरहरुकाे व्यवस्थापन गर्न असफल भएकाे जनाएकाे छ। समाजवादीका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार विज्ञप्ति जारी गरेर सरकारले सहर छाेडेर गाउँ हिंडेका नागरिककाे व्यस्थापन गर्न नसकेकाे बताए।

‘तराई मधेशलगायत देशको विभिन्न भागहरूबाट काठमाडौंमा आएर श्रम गरिरहेका गरिब श्रमिकहरू, विद्यार्थीहरू, सानातिना व्यवसाय गरी डेरामा बस्नेहरू, घरेलु कामदारलगायतका मानिसहरू लकडाउनले गर्दा दैनिक जीवीका चलाउन नसकेर काठमाडौं तथा विभिन्न सहरहरू छाडी आफ्नो घरतर्फ जान लागेका निरिह जनतालाई सरकारले यथाशीघ्र उचित व्यवस्थापन गर्न असफल भएको देखिन्छ,’ विज्ञप्तिमा भनिएकाे छ, ‘सर्वाहारा र श्रमिकवर्गका नाममा नेपालका कम्युनिष्ट सरकार र यसका शासकवर्गले यस कार्यलाई गम्भीरता पूर्वक नलिनु जनताको अनादर र अपमान गर्नु हो।’

समाजवादीले यस्ता पीडा, कस्ट र असमर्थताको अवस्थामा सरकारले उनीहरूका लागि तत्कालै बस्ने खाने, औषधि आदि व्यवस्था गर्नु पर्ने जनाएकाे छ। घर जान चाहने वा पैदल यात्रा गर्दै बाटोमा बिचल्लीमा परेकालाई सरकारले उद्धार गरी गृह जिल्ला वा गन्तव्यसम्म जानको लागि आवश्यक व्यवस्था यथाशीघ्र गर्न पनि समाजवादीले माग गरेकाे छ।

– News source: https://nepallive.com

Visits: 1636