
८ वैशाख, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले दल विभाजन सहज हुने गरी अध्यादेश जारी गर्नु सरकार सुध्रनै नसक्ने गरी रसातलमा भासिएको प्रमाण भएको बताएका छन् ।
उनले सरकारले जुनसुकै पार्टी फुटाउने लक्ष्य राखेको भए पनि त्यो लोकतन्त्रविरुद्धको गम्भीर अपराध हुने टिप्पणी गरेका छन् ।
सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेकोप्रति भट्टराईले ट्वीटरमार्फत टिप्पणी सार्वजनिक गरेका हुन् ।
भट्टराईले सरकारको यो कदमबाट देश संकटमा फस्दै गएको पनि बताएका छन् ।
उनले लेखेका छन् ‘सम्पूर्ण देश एकढिक्का भएर कोरोनाविरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो । जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्त्रविरूद्ध गम्भीर अपराध हो । देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान !’
– News courtesy: onlinekhabar.com