स्थिरताको नारा लगाउने ओलीले अस्थिरताकाे कारक तत्व निर्माण गर्नु अत्यन्त खेदजनक – वरिष्ठ नेता राई

काठमाडौं । २० अप्रिल २० । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले स्थिरताको नारा लगाएर चुनावमा भोट लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताको कारक तत्व निर्माण गर्नु अत्यन्तै खेदजनक र निन्दनीय रहेको बताएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार दल विभाजनबारे अध्यादेश ल्याएपछि नेता राईले उक्त प्रतिक्रिया जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषदबाट दल फुटाउनका लागि संसदीय दल वा पार्टी कुनै एक निकायमा ४० प्रतिशत मत भए सकिने प्रावधानसहितको अध्यादेश ल्याएका छन् । यसअघि दुवैमा ४० प्रतिशत पुगे मात्र दल फुटाएर नयाँ दल बनाउन सकिने व्यवस्था थियो ।

प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशले कुनै पनि दल फुटाउन वा फुट्न सहज भएको छ ।

प्रधानमन्त्रीको यो कार्य अत्यन्त खेदजनक र निन्दनीय मात्र नभएर बेमौसमी बाजा पनि भएको वरिष्ठ नेता राईको टिप्पणी छ ।

कोरोना भाइरसले मानवजाति नै संकटमा परिरहेको बेला प्रधानमन्त्री ओलीले ‘कामकुरो एकतातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान चरितार्थ गरेको नेता राईले फेसबुकमा टिप्पणी गरेका छन् ।

नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा नेकपाका नेता कार्यकर्ताहरु पछिल्लो समय राजनीतिक स्थिरता र शान्तिका कुरा गर्थे । मुलुकलाई स्थिरता दिन तथा स्थानीय सरकार निर्माण गर्नकै लागि नेकपा एमाले र माओवादी एकता गरिएको डंका पिटिदै थियो । नेकपाले निर्वाचनमा यही मुख्य नारा बनाएकाे थियाे ।

तर, प्रधानमन्त्री ओलीको यो कार्यले दलहरु फुटिरहन सजिलो हुने र देशमा सधैं अस्थिरता कायम हुने बाटो खुलेकाे छ ।

नेता राईले प्रधानमन्त्री ओलीले फेरि एक पटक फोहोरी खेलमा दलहरुलाई बदनाम गर्ने र अहिलेको व्यवस्थाप्रति नै जनविश्वास समाप्त पारेर प्रतिगामीको मतियार बन्न खोजेको आरोप लगाएका छन् ।

नेता राईले लेखेका छन्, ‘स्थिरताको नारामा भोट लिएका प्रमले अस्थिरताको कारक तत्व निर्माण गर्नु अत्यन्तै खेदजनक छ । फेरि एक पटक फोहोरी खेलमा दलहरुलाई बदनाम गर्ने र वर्तमान व्यवस्थाप्रति नै जनविश्वास समाप्त पारेर प्रतिगामीहरुको मतियार बन्ने काम कुनै परिवर्तनकारी व्यक्ति वा शक्तिले गर्न सक्दैन । यस्तो दुष्कर्मको निन्दा हुनुपर्दछ ।’

– News source: www.sarbajanik.com

Visits: 4160