समाजवादी पार्टीले सरकार छाड्यो, उपप्रधानमन्त्री यादव र मन्त्री राईले बुझाए राजीनामा

८ पुष २०७६, काठमाडौं । उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । यादवले राजीनामा दिएलगत्तै पार्टीका अर्का मन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिएका छन् ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले तत्कालीन संघीय समाजवादीसँग गरेको सहमतिबाट सत्तारुढ नेकपा पछि हटेको भन्दै राजीनामा दिएका हुन्। उनको दलले आजै यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राइले राजीनामा दिने निर्णय गरेको थियो।

यादवले प्रधानमन्त्रीलाई संबाेधन गरेको राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाइएको समाजवादी पार्टीका महासचिव गंगा श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यादवको राजीनामा आएको बताए । ‘राजीनामा आएको छ, प्रक्रियामा गएको छ,’ थापाले भने।

संविधान संशोधनका लागि आफूले पुस ७ को मन्त्रिपरिषद बैठकमा लगेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेकाले आफ्नो पार्टीसँग नेकपाले गरेको दुई बुँदे सहमति तोडिएको भन्दै उनले राजीनामा दिएको उनको राजीनामा पत्रमा उल्लेख गरिएको छ। यादवले सोमबारको मन्त्रिपरिषद बैठकमा संविधान संशोधनका लागि विज्ञ समिति बनाउने प्रस्ताव गरेका थिए। तर, प्रधानमन्त्री ओलीले यसलाई ठाडै अस्वीकार गरेका थिए। प्रधानमन्त्रीले तत्काल संविधान संशोधन नगर्ने बताएपछि मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

News source: https://ekantipur.com

Visits: 1827