राजपा सरकारमा गएर आत्महत्या गर्दैन भन्ने विश्वास छ : अध्यक्ष यादव

‘मन्त्रालय परिवर्तन गर्दा एकपटक पनि सोधिएन, यही हो राजनीतिक संस्कार ?’

काठमाडौँ । ९ पुस २०७६, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपाले सरकारमा सहभागी भएर आत्महत्या गर्ला भन्ने आफूलाई नलागेको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन बुधबार पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राजपालाई सरकारमा नजान सुझाव दिए । यादवले मंगलबार मात्रै उपप्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

‘राजपाले वर्तमान सरकारमा सहभागी भएर आत्महत्या गर्ला भन्ने विश्वास मलाई छैन्,’ यादवले भने। समाजवादी बाहिरिएपछि ओली सरकारको दुई तिहाईको दम्भ समाप्त भएको पनि यादवले बताए। ‘सरकारमा कम्युनिस्ट मात्रै होइन, अन्य पार्टी पनि छन्, हामीसँग दुई तिहाई छ भन्ने दम्भ थियो, त्यो अब तोडिएको छ,’ यादवले भने ।

संविधान संशोधन गर्नु पर्ने आफूहरुको सर्त सरकारले पूरा नगरेकाले सरकारबाट बाहिरिएको उनको भनाई थियो। प्रधानमन्त्री ओलीलाई व्यङ्य गर्दै यादवले भने, ‘संविधान संशोधन हुन्छ भन्ने सम्झौतामा हस्ताक्षर गर्ने प्रधानमन्त्रीलाई के-के विषयमा सम्झौता गर्ने भन्दै हस्ताक्षर गरेको हो भन्ने त थाहा होला नि?’

यादवले निर्वाचन प्रणाली, शासकीय स्वरुप, संघीय प्रणालीलगायत विषयमा संविधान संशोधन गर्नु पर्ने बताए।उनले आवश्यकता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्री ओलीको भनाई कार्यान्वयन हुने अवस्था युगौँसम्म नआउने त होइन होला नि भनेर प्रश्न समेत गरे।

ओलीले राजनीतिक स‌ंस्कारहीनता देखाएको आरोप यादवको छ। ‘सत्तारुढ दलबाट सरकारमा सहभागी मन्त्रीहरुको मन्त्रालय परिवर्तन गर्दा एकपटक सोध्ने प्रयाससमेत गर्नु भएन, बजेट निर्माण गर्ने छलफलमा बोलाउनु भएन। कुनै महत्वपूर्ण निर्णय गर्दा सरसल्लाह भएन, यस्तै हुन्छ राजनीतिक सस्कार?’ यादवले भने।

यादवले राजपासँग पार्टी एकीकरण गर्ने विषय अन्तिम चरणमा पुगेको पनि बताए। राजपा अब कसरी अगाडि बढ्छ, त्यसले एकीकरण हुने नहुने निर्भर गर्ने यादवको भनाई छ।

‘राजपाले हामीसँग एकीकरणका लागि सरकारबाट बाहिरिनु पर्ने सर्त राखेको थियो, त्यो हामीले पूरा गरेका छौ,’ यादवले भने, ‘अब उनीहरु कसरी अगाडि बढ्छन् त्यसले एकता हुने नहुने तय गर्छ।’

– जयसिंह महरा, ekantipur.com
प्रकाशित : पुस ९, २०७६ १५:४६

Visits: 408