भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्रीले निर्लज्ज भएर अंकमाल गरेः सहअध्यक्ष श्रेष्ठ

ललिपुर ९ पुस । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्री के.पि. शर्मा आलीले भ्रष्टाचारीलाई निर्लज्ज भएर अंकमाल गरेको बताएको छ । उनले उक्त कुरा संघीय समाजवादी महिला फोरम तथा महिला शक्ति नेपालबिच ललितपुरको ग्वार्कोमा भएको समाजवादी महिला संघ, प्रदेश नम्बर ३ को समायोजन कार्यक्रममा बताएको हो ।

सहअध्यक्ष श्रेष्ठले गोकर्ण रिसोर्ट प्रकरणले के.पि.ओलीको सुशासन र भ्रष्टाचार अन्त्यको राजनीतिक नारा उदांगिएको बताए । उनले पूर्व राजाबाट राज्यको नाममा ल्याएको सम्पतिलाई लूटको धन फुपुको श्राद्ध भने जस्तै व्यापारिक प्रयोजनका लागि समेत प्रयोग गर्न दिएर नीतिगत भ्रष्टाचार र कमिशनतन्त्रलाई प्रोत्साहित गरेको बताए ।

सांसद श्रेष्ठले वर्तमान प्रधानमन्त्रीले क्याविनेटबाट निर्णय गरी उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्रीको हैसियतमा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पठाएर संयुक्त सरकारको मुल्य र मान्यता विपरीत विदेशमै भएको बेला अर्को मन्त्रालयमा कार्यभार तोकेर कुटनीतिक रुपमा अपरिपक्वता प्रदर्शन गरेको मात्र नभई देशकै बेइजत गरेको बताए ।

आफ्नो पार्टीले प्रधानमन्त्रीको यस्तो व्यवहार सहेर पनि संविधान संशोधनको ध्येय पूरा गर्न सरकार नछोडेको तर संविधान संशोधनको गृहकार्य गर्न कानून मन्त्रीको हैसियतमा लगेको प्रस्तावलाई अस्विकार गरेको हुँदा पार्टी सरकारबाट बाहिरिएको बताए । अब आफ्नो पार्टीले संगठनात्मक क्षेत्रमा पार्टी विस्तार तथा सुदृढीकरण तथा राजनीतिक क्षेत्रमा सदन र सडक तताउँदै जनसंघर्षको कार्यनीति लिने बताए ।

नेता श्रेष्ठले समायोजित समितिलाई शुभकामना दिंदै आफ्नो हक अधिकार प्राप्तिका लागि एकजुट भएर अगाडी बढ्न आग्रह गरे । उनले नेपालमा एकात्मक व्यवस्थामा नै प्राप्त हुन सक्ने महिलाको हक अधिकार पनि उत्पीडित समुदायहरुले पहिचान सहितको संघीयताका लागि गरेको आन्दोलनको फलस्वरूप मात्र प्राप्त भएको बताउँदै नेपालको संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेण्टी, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष मध्ये १, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व आदि संघीय आन्दोलनको देन भएको तथा नेपालमा संघीयता र महिला अधिकारबिच अन्योन्याश्रित सम्बन्ध रहेको बताए ।

अमेरिकी महिलाहरुले मताधिकारका लागि समेत संघीय व्यवस्था स्थापनाको करिब १३० वर्ष र स्विस महिलाहरुले करिब १२३ वर्ष संघर्ष गरेको बताउँदै नेता श्रेष्ठले नेपालमा संघीय व्यवस्थाले तुलनात्मक रुपमा केही सहजता प्रदान गरेको बताए । उनले नेपालको संविधानको धारा ३८ ले प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक, धारा ४२ मा सामाजिक न्यायको हक तथा धारा ४३ मा आर्थिक रुपले विपन्न, अशक्त, असहाय एकल महिलालाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको बताए ।

नेता श्रेष्ठले आफनो पार्टीले प्रत्येक तहको समितिमा अनिवार्य रुपमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने र पार्टी सदस्यता कम भएको कारण अधिवेशनमा आवश्यक संख्यामा महिला प्रतिनिधि आउन नसकेको अवस्थामा पनि त्यो सिट खाली राखी पछि पदपूर्ति गर्ने वैधानिक व्यवस्था गरेको तथा संसदीय दलमा पनि दलको नेता र उपनेता फरक लिंगको हुने व्यवस्था गरेको बताए ।

दिना लामाले अध्यक्षता तथा सृजना रिजालले संचालन गरेको उक्त कार्यक्रममा अनिता थिङको अध्यक्षतामा नयाँ प्रदेश समिति चयन गरेको थियो । पार्टीका उपाध्यक्ष द्वय रेणु यादव र हिसिला यमी, महासचिव द्वय गंगा नारायण श्रेष्ठ र रामसहाय यादव कार्यक्रमका विशिष्ट अतिथि थिए भने अन्य अतिथिहरुमा पाटीे सचिव तथा महिला इन्चार्ज दुर्गा सोंव, संघीय समाजवादी महिला फोरमका पूर्व इन्चार्ज सुशिला श्रेष्ठ, महिला संघका सहइन्चार्ज पवित्रा तिमल्सिना, केन्द्रीय अध्यक्ष निर्माला यादव, महासचिव भगवती सुवेदी, सल्लाहकारर समिति प्रमुख सुशिला शाक्य, पार्टीका ३ नम्बर प्रदेश अध्यक्ष सोनाम सिं स्याङ्तान, नेवाः राष्ट्रिय समितिका इन्चार्ज पंचलाल महर्जन, मख्यसचिव परिवर्तन भट्टराई, महिला नेतृहरु बन्दना सुवेदी, होमकुमारी तामाङ, शोभा वज्राचार्य आदि उपस्थित थिए ।

Visits: 2533