सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) – सन् २०२०

सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)– सन् २०२०

सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद !
समुन्नत सङ्घीय समाजवाद – जिन्दावाद !!

२०७६ माघ ३ गते विसु अभियानको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम हुने बारे

ससफो नेपाल र नयाँशक्ति पार्टी बिचको एकीकरणले परिवर्तनकारी जनता, श्रमजीवी वर्ग र उत्पीडित समुदायहरूको मुक्तिको आशा, भरोसा एवम् राजनीतिक केन्द्रको रूपमा समाजवादी पार्टीको जन्म भएको छ । यसले पहिचानसहितको सङ्घीयता, सुशासन र समतामूलक समृद्धिका पक्षधर जनतामा ठूलो उत्साह पैदा गरेको छ । यसले नेपाली समाज परिवर्तनको मौलिक सिद्धान्तको रूपमा समुन्नत सङ्घीय समाजवादलाई अङ्गिकार गरेको छ । सङ्घवाद र समाजवाद यसका दुई मुख्य आधार हुन् । उत्पीडित राष्ट्रियताहरूको मुक्तिका लागि सङ्घीयता र श्रमजीवी वर्गको मुक्तिका लागि समाजवाद यसको ध्येय हो । यसलाई प्राप्त गर्न पार्टीले योजनावद्ध ढङ्गले काम गर्नु पर्दछ । पार्टी एकीकरणबाट प्राप्त वैचारिक उर्जालाई पुँजीकृत गरी सङ्गठनात्मक शक्तिमा रूपान्तरित गर्न सक्नु पर्दछ ।

कुनै पनि पार्टीको निर्माण र विकास स्वस्फुर्ततामा हुँदैन । पार्टी निर्माणका लागि सहि नीति, सिद्धान्त र विचार महत्त्वपूर्ण हुन्छ । तर त्यतिले मात्र पार्टी निर्माण हुँदैन । त्यसका लागि पार्टीको नीति, सिद्धान्त र विचारहरूलाई गाउँ–गाउँ र टोल–टोलमा पुर्याउन सक्ने सङ्गठनका जालो र कार्यकर्ताहरू आवश्यकता पर्दछ । हाम्रा प्रतिद्वन्द्वीहरू जहाँ जसरी अगाडि वढेका छन् त्यहाँ त्यसरी नै अगाडी बढ्न सक्ने शक्तिको आवश्यकता पर्दछ । सङ्गठनात्मक शक्ति रहेन भने सही नीति र सिद्धान्तलाई पनि व्यवहारमा पुष्टि गर्न सकिंदैन । अहिले हाम्रो पार्टी सैद्धान्तिक प्रश्नहरूमा सर्वाधिक स्पष्ट छ । तर त्यसलाई बुद्धिजीवीहरूबिच वहस गर्ने विषयवस्तु मात्र होइन, व्यवहारमा प्रयोग गर्ने मार्गदर्शक वनाउन सक्नु पर्दछ । अनि मात्र गाउँका गरिव जनताले पनि पार्टीलाई वुझ्ने अवसर पाउँदछ ।

पार्टी भनेको समाजको चेतनशिल, अगुवा, सङ्गठित र अनुशासित बैचारिक राजनीतिक सङ्गठन हो । यो केही नेता कार्यकर्ताहरूको जमघट होइन, निश्चित नीति, विचार, सिद्धान्त र कार्यक्रमका आधारमा सङ्गठित शक्ति हो । पार्टी निर्माण भन्नाले विचारधारात्मक तथा सङ्गठनात्मक काम, पार्टी समितिहरू बिचको आपसी सम्बन्ध, सञ्चार तथा पार्टीको कार्यपद्दति पनि हो । पार्टी वलियो वनाउनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा पार्टीले लिएका नीति, निर्णय र निश्कर्षलाई आत्म विश्वासका साथ कार्यान्वयन गर्नु तथा देश र जनताको हितमा काम गर्नु हो । अतः पार्टी निर्माणका सन्दर्भमा सबभन्दा बढी ध्यान त्यसमा पुर्यायाउनु पर्दछ,जसले पार्टीमा सहि वैचारिक दिशा पाउँछ, आफैले छलफल गरी तय गरिएका नीति, निर्णय र निश्कर्षहरू कार्यान्वयन हुन्छ, सङ्गठनको जीवन्त परिचालन हुन्छ, पार्टीमा क्रियाशिलता वढ्दछ र आपसी सम्बन्ध तथा सञ्चार स्थापित हुन्छ ।

कुनै पनि पार्टीको विजयको आधार भनेको सही विचार, जुझारु सङ्गठन तथा सङ्घर्षशील कार्यकर्ता पङ्क्ति नै हो । हामीले आफ्नो विचारको सहिपनाको वकालत गर्याै । तर गाउँ गाउँ र टोल टोलमा सङ्गठनात्मक शक्ति निर्माण भइसकेको छैन । त्यसैले पार्टी एकीकरणको सन्देश देशव्यापी रूपमा लान, पार्टी सङ्गठन विस्तार र सुदृढीकरण गर्न तथा पार्टीको पक्षमा जन लहर सृर्जना गर्न पार्टी केन्द्रीय समितिको दोस्रो बैठकले सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) सञ्चालन गर्ने निर्णय गरेको छ । यो अभियान सम्पूर्ण श्रमजीवी वर्ग र उत्पीडित समुदायको बिचमा पार्टीलाई पुर्यायाउने अभियान हो । पहिचान सहितको सङ्घीयता, समावेशी लोकतन्त्र, समानुपातिक समावेशीकरण, सुशासन र समतामूलक समृद्धिका लागि समुन्नत सङ्घीय समाजवादको बाटो कोर्नु यस अभियानको महत्त्वपूर्ण कार्यभार हो । यी कार्यभारहरू पूरा गर्न हामीलाई यस्तो पार्टीको आवश्यकता छ, जुन विचार, सङ्गठन र कार्यशैलीको हिसावले नयाँ ढङ्गको होस । पुराना पार्टीहरू भन्दा भिन्न हरेक क्षेत्रमा आफ्नाे अलग विकल्प भएको पार्टी होस । हामीले परिकल्पना गरेको नयाँ ढङ्गको पार्टीमा निम्न विशेषताहरू हुनु पर्दछ :

पहिलो – सिद्धान्तनिष्ठ अर्थात समुन्नत सङ्घीय समाजवाद र पहिचान सहितको सङ्घीय लोकतन्त्रप्रति प्रतिवद्ध ।
दोस्रो – सङ्घर्षशील अर्थात जनसङ्घर्ष र राजनीतिक प्रतिस्पर्धामा श्रेष्ठता हाँसिल गर्न सक्ने ।
तेस्रो – राष्ट्रिय चरित्रको अर्थात जातीय वा क्षेत्रीय नभै सिङ्गो देश ओगट्न सक्ने ।
चौथो – समानुपातिक समावेशी अर्थात कुनै एउटा जातिको वर्चस्व नभै समानुपातिक प्रतिनिधित्व भएको ।
पाँचौं – अनुशासित अर्थात पार्टीको नीति निर्णयहरूलाई पालना गर्ने ।

अहिले सङ्गठनात्मक क्षेत्रको पार्टीको मुख्य कार्यनीति कामको केन्द्रबिन्दु पार्टी विस्तार र सुदृढीकरण हो । हामीले यस काममा प्राप्त गर्ने सफलताले नै हाम्रो पार्टीको जनसम्वन्ध पनि विस्तार हुन्छ । यस अभियानमा समग्र पार्टी एक ज्यान एक प्राण भएर लाग्नु पर्दछ । यस अभियानको नेतृत्व पार्टी केन्द्रीय कार्यकारिणीले गर्ने छ भने दैनिक कार्य सम्पादन तथा चुस्तदुरुस्त रूपमा सञ्चालन गर्ने काम अभियानको सचिवालयले गर्ने छ । यस अभियान २०७६ माघ ३ गतेदेखि ३ महिनासम्म सञ्चालन हुने छ । अभियानको उद्देश्य :

– पार्टीलाई वैचारिक रूपमा वैकल्पिक र शक्तिको हिसाबले पहिलो बनाउने ।
– पार्टी एकीकरणको सन्देश जनताबिच पुर्याउने ।
– समायोजनको बाँकी काम सम्पन्न गर्ने ।
– पार्टी कार्यकर्ताहरूको सैद्धान्तिक एवम् वैचारिक स्तर अभिबृद्धि र रूपान्तरण गर्ने ।
– बाँकी स्थानीय तह (पालिका, वडा र टोल) हरूमा सङ्गठनात्मक सञ्जाल विस्तार गर्ने ।
– एकीकरण र ध्रुवीकरणको कामलाई घनिभूत गर्ने ।
– पार्टी एकीकरणको लक्ष्यलाई आत्मासात गर्दै पार्टीभित्र आपसी एकता, हार्दिकता र सकारात्मक सोंचको बिकास गर्ने ।
– संविधान संशोधनका लागि सडक र सदनबाट दवाब सिर्जना गर्ने ।

यी उद्देश्यहरू प्राप्तिका लागि सबै प्रदेशहरूमा एक साथ २०७६ माघ ३ गते विसु अभियानको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदै छ । यसको तयारीमा लाग्न सम्पूर्ण प्रदेश समितिहरूलाई हार्दिक अनुरोध गर्दछु ।

संयोजक
विसु अभियान सचिवालय
———————————————————

थपः विसु अभियानका संयोजक तथा पार्टी सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठका अनुसार प्रत्येक जिल्लामा संयोजक र प्रत्येक निर्वाचन क्षेत्रमा अभियन्ता रहने छन र यहि आउदो ३ माघबाट शुरुहुने अभियान ७ वटै प्रदेशबाट एकै साथ शुरु हुनेछ । प्रदेश १ मा वरिष्ठ नेता असोक राई, प्रदेश २ मा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, प्रदेश ३ मा सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, प्रदेश ४ संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, प्रदेश न ५ मा उपाध्यक्ष नवराज सुवेदी, प्रदेश न ६ मा उपाध्यक्ष युवराज कार्की र प्रदेश न ७ मा उपाध्यक्ष हेमराज राईको प्रमुख आतिथ्यमा उदघाटन हुनेछ । ३ महिना सम्म चल्ने यस अभियानले पार्टीको नीति तथा कार्यक्रम स्थानीय तह सम्म पुग्ने र पार्टी विस्तारमा उर्जा थप्ने कुरा अभियान संयोजक श्रेष्ठले बताउनु भयो ।

Visits: 2349