एमसीसी सम्झौता नेपालकाे विद्युत र पानीमा अमेरिकी एकाधिकार राख्ने षडयन्त्रः सुनुवार

बुटवल । समाजवादी पार्टीको रुपन्देहीस्थित बुटवल उपमहानगर समिति समायोजन गरिएको छ ।

समाजवादी पार्टी प्रदेश नं ५ का सहइन्चार्ज नवीनकुमार सुनुवारको प्रमुख आतिथ्यतामा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको नगर समितिबीच समायोजन गरी बामदेव भुसालको अध्यक्षतामा २९ सदस्यीय नयाँ समिति घोषणा गरिएको हो ।

समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै सहइन्चार्ज सुनुवारले अहिले देशभर भ्रष्टाचार मौलाएको बताए ।
उनले स्थानीय तहका जनप्रतिनिधिहरु नै विकास निर्माणका योजनाहरुमा कागजपत्र तथा बिल मिलाएर भ्रष्टाचारमा लिप्त रहेको बताए ।

उनले भने, ‘मुठ्ठीभरका दलाल पुँजी वर्ग र भ्रष्टाचारीले मादल बजाउने प्रधानमन्त्री आगन टेढो पारेर नांगो नाच देखाएर स्थानीय तहका जनप्रतिनिधिहरुले विकास निर्माणका योजनामा बिल मिलाएर करोडौ भ्रष्टाचार गरिरहेका छन् ।’

उनले इन्डो प्यासेफिक स्टाट्रेजी अन्तर्गतको एमसीसी सम्झतौले नेपाललाई कुनै फाइदा नहुने बरु त्यसले नेपालको विद्युत र खानेपानीमा अमेरिकी एकाधिकार हुन सक्ने दाबी गरे ।

‘एमसीसी भनेको चीनलाई घेराउ गरेर नेपालको विद्युत र नेपालको पिउने पानीमा अमेरिकी एकाधिकार जमाउने खेल हो,’ उनले भने ।

उनले पहिचानसहितको १० प्लस १ प्रदेश प्राप्तिका लागि अब सदन र सडक आन्दोलन थाल्नुपर्ने बताए । उनले अबको आन्दोलन सशक्त हुनुपर्ने र सो आन्दोलनको पहिलो सहिद आफू हुन तयार रहेको पनि बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पंकज राई र बम दर्लामीले पनि नयाँ समितिका पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।

News source: www.sarbajanik.com

Visits: 688