संविधान संशोधनका लागि सडक र सदन तताउने छौं : यादव

उदयपुर । २० माघ २०७६, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको माग पूरा नगर्ने सरकारलाई मुर्ख संज्ञा दिएका छन् । सोमबार उदयपुरको गाईघाटमा समाजवादी पार्टी प्रदेश नम्बर १ समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नेतृत्वको सरकारलाई मुर्खको संज्ञा दिएका हुन् ।

यादवले सूचना विधेयक, विशेष सेवा ऐन विधेयक ल्याउने सरकारी तयारीप्रति टिप्पणी गरेका छन् । ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी नियन्त्रणको प्रयास भैरहेको छ,’ उनले भने, ‘संविधान संशोधनको लागि सडक र सदन तताउने छौं ।’

नेकपा नेतृत्वको सरकारमा डेढ वर्ष सहकार्य गर्दा पनि संविधान संशोधनको लिखित प्रतिवद्धता कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेका कारण सरकारबाट बाहिरिएको बताएका छन् ।

सरकार असफल भएको आरोप लगाउँदै अध्यक्ष यादवले भने, ‘आर्थिक वर्षको सात महिना बित्न लाग्दा १७ प्रतिशत मात्र बजेट खर्च भएको छ, भ्रष्टाचार बढेको छ ।’ देशमा लगानी भित्र्याउन तामझाम गरेर लगानी सम्मेलन गरिएको स्मरण गराउँदै उनले भने, ‘त्यत्रो तामझाम गरेर लगानी सम्मेलन भयो । तर लगानी आएन । ठीक विपरित मुलुक पुँजी पलायनको समस्याबाट ग्रस्त छ ।’

फरक प्रसङ्गमा अध्यक्ष यादवले हाल चर्चामा रहेको एमसीसी परियोजनालाई सरकारले संसद्मा अनुमोदन गराउनु पर्ने बताएका छन् । ‘एमसिसी सरकारले सदनमा प्रस्तुत गर्नु पर्ने हो,’ उनले भने, ‘तर सरकार आफै यसबारे अन्योल र अस्पष्ट देखिन्छ ।’

यादव पार्टी प्रदेश नम्बर १ समितिले आयोजना गरेको २ दिने प्रादेशिक प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए । प्रशिक्षण आइतबार र सोमबार दुई दिनदम्म चलेको समाजवादी पार्टी प्रदेश नं १ अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए ।

News source: www.nagarikKhabar.com

Visits: 1198