बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद मुसलमान समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
गाउँपालिका अध्यक्ष मुसलमानसँगै वडा नं ६ का अध्यक्ष विजय यादव समेत समाजवादीमा प्रवेश गरेका छन् ।
शनिबार समाजवादी पार्टी जिल्ला समन्वय समिति कपिलवस्तुले शुद्धोधन गाउँपालिकामा आयोजना गरेको विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु समाजवादीमा प्रवेश गरेका हुन् ।
समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई स्वागत गरेका छन् ।
सद्भावना पार्टीका गजेन्द्र नारायण सिंहकै पालादेखि मधेसको राजनीतिमा लागेका गाउँपालिका अध्यक्ष मुसलमान राष्ट्रि«य जनता पार्टीले स्थानीय चुनाव बहिष्कार गरेपछि स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडेका थिए ।
उनी मधेसका लागि काम गर्ने पार्टी समाजवादी नै रहेको भन्दै प्रवेश गरेका हुन् ।
सो अवसरमा नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष सुुनिल पाण्डेय, सचिव काशिनाथ पाठक लगायत नेता कार्यकर्ताहरु समेत समाजवादीमा प्रवेश गरेका छन् ।
सो अवसरमा समाजवादीका अध्यक्ष यादवले मधेसी, थारु, जनजातिलाई अधिकार दिन नचाहने सरकारलाई आन्दोलनबाट जवाफ दिने आफूहरुले तयारी गरिरहेको बताए ।
उनले भने, ‘मधेसी, थारु र जनजातिलाई अधिकार दिन नखोज्ने सरकारलाई आन्दोलनबाटै जवाफ दिने समय आउँदैछ । संविधान संशोधन नहुँदासम्म सरकारसँग लड्न आन्दोलन गर्न तयार छौ ।’

