सरकार देशको आर्थिक भन्दा पुँजीपतिहरूको विकासमा केन्द्रित भयोः बाबुराम भट्टराइ

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकार देशको आर्थिक विकास भन्दा पनि पुँजीपतिहरूको विकासमा केन्द्रित भएको आरोप लगाएका छन् । उनले सरकारका कारण देशभित्र रहेको पुँजी केही पुँजीपतिहरूको अधिनमा रहेकोले आर्थिक विकासमा सुस्तता आएको बताए । उनले यो कुरा समाजवादी पार्टी निकट नेपाल उद्योग, वाणिज्य तथा व्यवसाय महासंघको समायोजन घोषणा कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै बताएका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले पुँजीको विकास नगरी समाजवाद नआउने बताउँदै भने, ‘उत्पादनशील क्षेत्रमा लगानी गरेर समाजको विकास गर्नु जरुरी छ । बैंकहरूमा देशकै अर्थतन्त्र बराबरको पुँजी जम्मा भएको छ, जसको प्रयोग एक दुई सय जनाले मात्र गरेकाले देशको आर्थिक विकास नभएको हो । पुँजीको पहुँच साना र मझौला व्यवसायीमा नपुगेसम्म आर्थिक विकास हुँदैन ।’ उनले देशको अर्थतन्त्रको विकासका लागि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिले नेपाली बैंकहरूमा झण्डै कूल गार्हस्थ उत्पादन बराबर ३३–३४ खर्ब रुपैयाँ पुँजी रहेको छ। तर, त्यसको प्रयोग सय–दुईसय ठूला घरानाहरूले गरिराखेका छन् । जबकी यहाँ ५० औं लाख साना र मध्यम उद्योग व्यवसायीहरू छन्, उनीहरूले सामान्य बिउ पुँजीसमेत प्राप्त गर्न सकेका छैनन् । त्यसो भएको हुनाले सबैभन्दा पहिले हामीसँग उपलब्ध जुन पुँजी छ त्यसको ठीक ढंगले मुख्यतःसाना र मध्यम व्यवसायीहरूमा हामीले ठीक ढंगले वितरण गर्ने व्यवस्था हुनुपर्दछ ।’

उनले प्रत्येक वर्ष रेमिट्यान्स ८ खर्ब आउने र त्यसको १० प्रतिशत सञ्चय हुने र बाँकी ९० प्रतिशत उपभोग गर्ने प्रकारको अर्थतन्त्र हुन नसक्ने बताए । उनले भने, ‘विदेशबाट श्रम बेचेर पैसा ल्यायो अनि विदेशकै सामान मगायौ अनि यहाँ खाएर फोहोर गर्ने मात्रै विदेशमा चाहिँ श्रम बेच्ने त्यसले कमाएकोले विदेशबाट वस्तु आयात गर्ने अनि यहाँ फोहोर गर्ने यस्तो अर्थतन्त्र हुनै सक्दैन ।’

नेपालको विकासको आधार ‘पाँच ज’

कार्यक्रमका विशिष्ट अतिथि तथा पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल जन, जमीन, जंगल, जडीबुटी र जनशक्ति गरी ‘पाँच ज’को हिसावले विश्वकै धनी देश भएकोले त्यसको सही सदुपयोग भएमा विकासको अपार सम्भावना भएको बताउँदै यसको लागि देश भ्रष्टचारमुक्त र सुशासनयुक्त हुनुपर्ने बताए । उनले विश्वको कूल गार्हस्थ उत्पादनमा प्रति व्यक्ति आय करिव ११७०० पुुगेको वर्तमान अवस्थामा नेपालको प्रतिव्यक्ति आय १०३४ अमेरिकी डलर मात्र रहेको यथार्थ प्रस्तुत गर्दै यति धेरै स्रोत साधन भएको मुलुक किन दरिद्र बन्नुको कारण सात दशकदेखि पटक पटक सत्तामा पुगेका कांग्रेस र कम्युनिष्टहरूको अयोग्यता नै भएको बताए ।

नेता श्रेष्ठले देशको अर्थतन्त्रको अवस्थालाई चित्रण गर्दै भने, ‘पछिल्लो १० वर्षमा देशको कूल गार्हस्थ उत्पादनमा ३३ं.३ प्रतिशत कृषि क्षेत्रको, १४.४ प्रतिशत संगठित उद्योगहरूको र ५२.३ प्रतिशत सेवा उद्योगहरूको योगदान रहेको थियो । अहिले सेवा क्षेत्रको योगदान बढेर ५७.६ प्रतिशत पुगेको छ भने औद्योगिक क्षेत्रको १४.८ प्रतिशत र कृषि क्षेत्रको २७.६ प्रतिशतमा सीमित भएको छ । नेपालमा अहिले पनि ६० प्रतिशत जनताको औपचारिक पेशा कृषि हो । श्रम शक्तिको हिसावले कूल गार्हस्थ उत्पादनमा २७.६ प्रतिशत हिस्सा मात्र ओगट्ने कृषि क्षेत्रमा अझै पनि ६० प्रतिशत श्रमशक्ति संलग्न हुनु देशको अर्थव्यवस्थाका लागि राम्रो सङ्केत होइन । अहिले पनि उद्योग धन्दामा श्रमशक्ति ८ प्रतिशत मै सीमित छ ।‘

सांसद श्रेष्ठले भने, ‘एक समय त्यस्तो पनि थियो जुनबेला बाहिरबाट नेपालमा कामको खोजीमा आउंथे । समकालिन विश्वमा नेपाल तुलनात्मक रूपमा समृद्ध देखिन्थ्यो । यहाँको कला, कौशल, दरबारहरू विश्वप्रसिद्ध बने । तर अहिले करिव ४० लाख नेपालीहरू कामको खोजीमा खाडी क्षेत्रमा मात्र गएका छन् । अन्यत्र पनि धेरै छन् । गत वर्ष विप्रेषणले नेपालको कुल गार्हस्थ उत्पादनको २४ दशमलव २५ प्रतिशत हिस्सा ओगटेको थियो भने अहिले विप्रेषणले कुल गार्हस्थ उत्पादनको २५।१ प्रतिशत हिस्सा ओगटेको छ ।’ उनले प्राप्त विपे्रषण पनि उद्योग धन्दामा नभई त्यसको करिव ९० प्रतिशत हिस्सा उपभोगमा खर्च हुने गरेको बताए ।

श्रेष्ठले भने, ‘यस वर्षको बजेटमा राजस्व ९८१ अर्ब र चालु खर्च ९५७ अरब प्रक्षेपण गरेको छ, तर अहिलेको राजस्व उठौति हेर्दा उठ्ने सम्भावना देखिंदैन । राजस्वले चालु खर्च समेत धान्ने सम्भावना छैन । जनतालाई ढाँट्ने काम भइरहेको छ ।’ त्यसैले उनले नेपालको अर्थतन्त्रलाई सङ्घीय ढाँचामा पुनर्संरचना गर्नुपर्ने र विकासको समाजवादी बाटो अबलम्बन गर्नुपर्ने बताउँदै देशको विकास र समृद्धिका लागि आजको आवश्यकता कृषि क्रान्ति र राष्ट्रिय औद्योगिकरण भएको बताए । उनले कृषिमा रहेको श्रमशक्तिलाई औद्योगिक क्षेत्रमा लगाउन सक्नु पर्ने बताए ।

नेपाल उद्योग, वाणिज्य तथा व्यवसाय महासंघ र यसका ९ वटा घटकहरू संघहरूको समायोजन घोषणा तथा शपथ ग्रहण समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा महासंघका इन्चार्ज आङ्देण्डी शेपाले गराएका थिए भने कार्यक्रममा पार्टीका उपाध्यक्ष हिसिला यमी, महासचिव गंगा नारायण श्रेष्ठ, नेपाल बौद्धिक पेशाकर्मी महासङ्घका इन्चार्ज नहेन्द्र प्रधान र नेवाः प्रदेशका इन्चार्ज पञ्चलाल महर्जन लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

-News courtesy: https://www.lokpath.com

Visits: 858