कतै एकताको काम सक्दै, कतै कार्यकर्तामा ऊर्जा भर्दै

समाजवादीको संगठन विस्तार र सुदृढीकरण अभियान

२ चैत २०७६ । समाजवादी पार्टीका नेताहरू अहिले काठमाडौंमा कमै भेटिन्छन् । कारण हो, उनीहरू पार्टीको तीनमहिने संगठन विस्तार र सुदृढीकरण अभियान । यसमा उनीहरू ११ प्रदेशको खाका बोकेर गाउँगाउँ पुगिरहेका छन् । ३ माघदेखि सुरु भएको समाजवादी पार्टीको संगठन विस्तार र सुदृढीकरण अभियानका लागि तीनमहिने कार्यकतालिका तय गरिएको छ ।

यस अभियानको समापन गर्न ३० चैतमा काठमाडौंमा शक्ति प्रदर्शन गर्ने समाजवादीको तयारी रहेको छ । यद्यपि, पछिल्लो समयमा कोरोना भाइरसको त्रासका कारण शक्ति प्रदर्शनको कार्यक्रमलाई प्राथमिकता दिइएको छैन । अभियानका संयोजक तथा समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ भन्छन्, ‘कोरोनाको अवस्था हेरेर काठमाडौंको शक्ति प्रदर्शनबारे चैतको दोस्रो सातातिर अन्तिम निर्णय लिन्छौँ ।’

अहिले अभियानका क्रममा नेता–कार्यकर्ता सातै प्रदेशमा खटिएका छन् । अभियानलाई स्थानीय तहमा केन्द्रित बनाइएको छ । एक वर्षअघि तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकीकरण भएपछि गठन भएको समाजवादी पार्टीको यो संगठनसम्बन्धी पहिलो अभियान हो । ‘त्यसैले यो अभियान एकीकरणको बाँकी समायोजन पूरा गर्नदेखि समायोजन भइसकेको ठाउँमा नयाँ ऊर्जा पनि दिने हो,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने । अहिले सातै प्रदेशका एक सय ६५ निर्वाचन क्षेत्र र सात सय ५३ स्थानीय तहमा केन्द्रित गरिएको उनले बताए ।

अभियानको सुरुवात गर्न सातै प्रदेशमा पार्टीका शीर्ष नेताहरू नै खटिएका थिए । अभियान प्रारम्भका लागि प्रदेश १ मा वरिष्ठ नेता अशोककुमार राई, प्रदेश २ मा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, बागमती प्रदेशमा सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, प्रदेश ५ मा उपाध्यक्ष नवराज सुवेदी, कर्णाली प्रदेशमा युवराज कार्की र सुदूरपश्चिम प्रदेशमा हेमराज राई खटिएका थिए ।

त्यस्तै, सातै प्रदेशको अभियान अनुगमन गर्न केन्द्रीय प्रतिनिधिहरू खटिएकोे समाजवादी पार्टीले जनाएको छ । प्रदेश १ मा उपाध्यक्ष रकम चेम्जोङ र पर्शुराम खापुङ, प्रदेश २ मा उपाध्यक्ष लालबाबु राउत, बागमती प्रदेशमा उपाध्यक्ष हिसिला यमी, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमराज राई, प्रदेश ५ मा उपाध्यक्ष नवराज सुवेदी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष युवराज कार्की अनुगमनमा खटिएका छन् ।

त्यसका साथै ७७ वटै जिल्लामा संयोजक र एक सय ६५ वटै निर्वाचन क्षेत्रमा अभियन्ताको समेत व्यवस्था गरिएको समाजवादी जनाएको छ । सम्बन्धित जिल्लाका वरिष्ठ केन्द्रीय सदस्यलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ । अभियान अवधिभर पार्टीका उपाध्यक्षहरूले अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

अभियानमा ११ प्रदेशको खाका

संविधानले सात प्रदेश व्यवस्था गरेको भए पनि समाजवादी पार्टीले छुट्टै ११ प्रदेशको खाका ल्याएको छ । त्यही खाका बोकेर अभियान चलाइरहेको छ । संगठन विस्तार र सुदृढीकरण अभियानका संयोजक तथा समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सात प्रदेशलाई प्रशासनिक रूपमा मात्रै स्वीकार गरेर ११ प्रदेशका लागि संघर्ष जारी राख्ने उद्देश्यले खाकासहित समितिहरू बनाएर अभियान थालेको बताए ।

‘हामी ती समितिहरूमार्फत अहिले समुन्नत संघीय समाजवाद र पहिचानसहितको संघीयताबारे अभियान चलाइरहेका छौँ,’ श्रेष्ठले भने, ‘जुन हाम्रो राजनीतिक माग पनि हो ।’ दोस्रो संविधानसभाले सात प्रदेशको खाकासहित संविधान जारी गरेपछि तत्कालीन संघीय समाजवादी पार्टीले त्यसको विरोध गर्दै आन्दोलन गरेको थियो । अहिले पनि समाजवादीले संविधान संशोधनको माग गर्दै आएको छ ।

यद्यपि, निर्वाचनमा सामेल भएपछि यो मुद्दा गौण देखिएको थियो । डा. भट्टराई र उपेन्द्र यादवले गत वैशाखमा पार्टी एकीकरण गरेपछि ११ प्रदेशको मुद्दा पुनः ब्युँताइएको थियो । राजपा नेपाल पनि यो माग गर्दै आएको छ ।

– News source: www.nayaPatrika.com

Visits: 1145