सरकारले समयमै एसईई परीक्षाबारे निर्णय लिन नसक्दा मुलुकलाई क्षति भयाे

काठमाडौं । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले सरकारले अन्तिम घडीमा मात्र उच्च माध्यमिक शिक्षा परिषद् (एसईई) काे परीक्षा रद्द गरेर निर्णयको अयोग्यता देखाएको बताएका छन् ।

नेता राईले सरकारले समयमै परीक्षा स्थगित गर्ने निर्णय लिन नसक्दा र परीक्षाका लागि सम्पूर्ण तयारी गर्दा त्यसले मुलुकलाई नै ठुलो क्षति पुर्याएको उल्लेख गरेका छन् ।

राईले फेसबुकमार्फत सरकारको निर्णय क्षमता कमजोर भएको बताएका हुन् ।

मंगलबारसम्म एसईई परीक्षा नरोकिने जिकिर गर्दै आएको सरकारले बुधबार साँझ मात्र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

करिब ५ लाख विद्यार्थी सहभागी हुने एसईई परीक्षा चैत ६ गतेबाट हुन लागेको थियो ।

‘सम्पूर्ण तयारी सकिएको परीक्षा रद्द गर्ने सरकारी निर्णय अयोग्यता र गैरजिम्मेवारीको जल्दोबल्दो उदाहरण हो,’ नेता राईले लेखेका छन्, ‘यसले करोडौ राजश्व खेर गएको मात्र होइन बरु लाखौ विद्यार्थीको उत्साह र मेहनतमा पानी खन्याउनुका साथै अभिभावकहरुको लगानी बेहिसाबसँग बर्बाद समेत पारेको छ ।’

उनले समयमै निर्णय नगरेर परिस्थितिमा कुनै परिवर्तन नआएकै अवस्थामा नै जनता र मुलुकलाई यस्तो क्षति पुर्याएकामा शिक्षामन्त्रीले जिम्मेवारी लिने हिम्मत गर्लान त ? भन्दै प्रश्न गरेका छन् ।

-News courtesy: www.sarbajanik.com

Visits: 970