४४ रुपैयाँको तेलमा ४३ रुपैयाँ कर लगाएर नाफा र बाेनस खाँदै निगम

समाजवादीले उठायो प्रश्न ?

काठमाडौं । समाजवादी पार्टीले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा सत प्रतिशत कर लगाएर जनतासँग महंगो मूल्य असुल्दै किन अधिक नाफा खाएको ? भन्दै प्रश्न उठाएको छ ।

समाजवादी पार्टी नेवाः राष्ट्रिय समितिले बुधबार निगमलाई ज्ञापन–पत्र बुझाउँदै उक्त प्रश्न गरेको हो ।

निगमले भारतको रक्सौलबाट प्रतिलिटर ४४ रुपैयाँ ३२ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ४३ रुपैयाँ ९८ पैसा थप कर लगाएर बेचिरहेको र जुन कार्य अन्यायपूर्ण रहेको उल्लेख गरेको छ ।

कोरोना भाइरसको प्रभावले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ६८ प्रतिशतले घटे पनि निगमले नेपालमा भने ९ प्रतिशत मात्र घटाएको समेत समितिले जनाएको छ ।

समितिका अध्यक्ष मनरत्न शाक्य नेतृत्वको टोलीले बुधबार निगमका अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेको छ ।

‘सर्वसाधारण जनताबाट बढी मूल्य असुलेर निगमले यति ठूलो परिमाणमा नाफा किन कमाउनु प¥यो ? गम्भीर प्रश्न चिन्ह खडा भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘शतप्रतिशत कर लगाउनु र अत्याधिक मात्रामा नाफा कमाउनु जनता माथिको चरम शोषण हो ।’


समितिले अन्तर्राष्ट्रिय बजारको मूल्य अनुपातमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने र सतप्रतिशत कर लगाएर निगमले अकुत नामा कमाएर सर्वसाधारण जनतामाथिको शोषण बन्द गर्नुपर्ने दुईबुँदे माग राखेको छ ।

निगमले अधिक नाफा कमाएर हाल कर्मचारीहरुलाई आकर्षक बोनस दिदै आएको छ । यस विषयमा सरकारले चासो दिएको छैन ।
नेपालमा पेट्रोलियम पदार्थको कारोबारमा निगमको एकाधिकार छ ।

– News courtesy: www.sarbajanik.com

Visits: 2791