समाजवादी पार्टीका ५ जनवर्गीय संगठनका समायोजन


ललितपुर, ८ भदौ । नेपाली युवाहरू विदेश होइन, विदेशी युवाहरू नेपालमा काम गर्न आउनसक्ने उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । आइतबार समाजवादी पार्टीका जनवर्गीय संगठनहरू समाजवादी युवा संघ, समाजवादी महिला संघ, समाजवादी विद्यार्थी युनियन, समाजवादी खेलकुद महासंघ र उद्योग व्यावसायी महासंघको समायोजन कार्यक्रममा यादवले यो कुरा बताएका हुन् । यादवले समानता र सम्पन्नता समाजवाद रहेकोले पार्टीले यहि नीतिलाई लिएको पनि बताएका थिए ।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी पार्टीले अंगीकार गरेको सिद्धान्त समुन्नत संघीय समाजवाद रहेको बताएका थिए । काँग्रेसले पुँजीवादको आडमा समाजवादका नारा लिएको र कम्युनिष्टले साम्यवादअन्तर्गत समाजवाद रोजेको थियो तर यता उता नगरी सिधै समुन्नत संघीय समाजवादमा जानु नै ठीक रहेको डा. भट्टराईको जिकिर थियो ।

पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफू जहाँ रहिन्छ, त्यहीबाट समुन्नत समाजको निर्माण गर्नु नै समुन्नत संघीय समाजवाद हो भनेका थिए । यो समाजवाद नेपालको माटो र भुगोल सुहाउँदो रहेका पनि श्रेष्ठले बताएका थिए ।

तत्कालिन संघीय समाजवादी फोरम नेपाल निकट समाजवादी युवा फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल निकट युवा शक्ति नेपालबीच समायोजन गरी ‘समाजवादी युवा संघ’ घोषणा गरिएको छ । समायोजनले योगेन्द्र राय यादवको अध्यक्षतामा १३३ सदस्यीय समिति निर्माण गरेको छ । त्यसैगरी नेत्रबहादुर नेम्बाङ (नरेश)को अध्यक्षतामा ५० सदस्यीय संघीय समाजवादी खेलकुद महासंघको निर्माण भएको छ ।

संघीय विद्यार्थी युनियन र नयाँ शक्ति विद्यार्थी युनियनबाट समायोजन गरी रूपनारायण श्रेष्ठको अध्यक्षतामा १५१ सदस्यीय समितिको निर्माण भएको छ । त्यसैगरी समाजवादी महिला संघमा अध्यक्ष निर्मला यादव भएका छन् भने नेपाल उद्योग, वाणिज्य तथा व्यवसाय महासंघलाई कमला गुरुङले नेतृत्व गरेका छन् ।

ललितपुरस्थित किरात याक्थुङ चुम्लुङ भवनमा आयोजित कार्यक्रमको अध्यक्षता गरेका पार्टीका उपाध्यक्ष रकम चेम्जोङले समाजवादी महिला संघको अगुवाईमा यतिका कार्यक्रम हुनु खुशी भएको बताएका थिए । साथै समायोजनका कामहरू लगभग सकिदै सकिदै गएको हुँदा पार्टी समृद्ध पनि बनेको बताएका थिए ।

Source: nayaonline.com

Visits: 561