पार्टीमा पनि प्रत्यक्ष निर्वाचित अध्यक्ष र समानुपातिक केन्द्रीय समिति हुनु पर्छ : श्रेष्ठ


बनेपा । समाजवादी पार्टी, केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको कुरा उठाउने पार्टीहरूले पार्टीमा पनि प्रत्यक्ष निर्वाचित अध्यक्ष र समानुपातिक केन्द्रीय समिति हुनु पर्ने कुरालाई अङ्गीकार गर्नुपर्ने बताएको छ । उनले उक्त कुुरा बनेपामा आयोजित ससफो नेपाल र नयाँशक्ति पार्टीबिचको पार्टी समायोजन कार्यक्रममा उद्घाटन मन्तब्य दिँदै बताएको हो ।

प्रमुख अतिथि श्रेष्ठले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ भन्ने तर पार्टीमा महाधिवेशनद्वारा प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीको आवश्यकता नठान्ने र त्यसरी नै देशमा पूर्ण समानुपातिक संसदको माग गर्ने तर पार्टीमा केन्द्रीय समिति समानुपातिक हुनुपर्छ भन्ने कुरालाई अस्विकार गर्ने प्रवृत्ति दोहरो मापदण्ड भएको बताए । उनले सबै तहका पार्टीका पदाधिकारीहरू पनि समावेशी रूपमा चयन हुनुपर्ने बताए ।

नेता श्रेष्ठले उक्त कार्यक्रममा पार्टीले अङ्गीकार गरेको सिद्धान्त समुन्नत सङ्घीय समाजवाद सङ्घीयता, सुशासन र समृद्धिसहितको समाजवाद भएको बताउँदै यो नेपाली क्रान्तिको मौलिक सिद्धान्त भएको बताए । उनले नेपाली काङ्ग्रेसले पश्चिम युरोपको एकल जातीय देशको समाजवाद नक्कल गर्न खोजेको र नेकपाले वर्गीय समस्या मात्र देखेको आरोप लगाउँदै पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको समाजवादले मात्र बहुराष्ट्रिय देशमा जातीय र वर्गीय समस्यालाई एक साथ हल गरी देशमा सुशासन र समृद्धिको ढोका खोल्ने बताए ।

जातीय सङ्घीयता नभई पहिचान सहितको सङ्घीयता
कार्यबाहक अध्यक्ष श्रेष्ठले भने ‘पहिचानसहितको सङ्घीयता भनेको जातीय राज्य नभई सङ्घीय राज्य हो ।’ उनले वर्तमान शासक वर्ग साम्प्रदायिक भएको आरोप लगाउँदै प्रश्न गरे, ‘समानुपातिक समावेशीकरणसहितको सङ्घीय राज्य भनेको कसरी जातीय राज्य हुन्छ , बरु अहिले नेपालमा एकल जाति, एकल भाषा, एकल सभ्यता र एकल संस्कृतलार्ई प्रोत्साहित गरी के.पी. ओलीले कलात्मक रूपमा जातीय राज्य चलाइरहेको छ ।’ उनले आफ्नो पार्टीले ‘जातीय सङ्घीयता नभई पहिचान सहितको सङ्घीयताको नीति’ लिएको स्पष्ट पारे ।

ससफो काभ्रेका जिल्ला अध्यक्ष सिद्धि ब.जोशीको अध्यक्षता तथा नयाँशक्तिका कृष्ण भण्डारीले उद्घोषण गरेको उक्त समायोजन भेलाबाट कृष्ण भण्डारीको अध्यक्षतामा ९९ सदस्यीय नयाँ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा वीरबहादुर तामाङ, रामहरि खनाल र मिलन लामा, सचिवमा रकम लामा, सहसचिवमा राजिव लामा र कोषाध्यक्षमा सजनी तामाङ छानिएका छन् ।

ताम्सालिङ राष्ट्रिय समितिका उपाध्यक्ष ज्ञानु लामाले स्वागत गरेको उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका इन्चार्ज कृष्णवहादुर घःजु, अध्यक्ष सोनाम सिं स्याङ्तान, मञ्जु अन्सारी, बन्दना सुवेदी, ताम्सालिङ राष्ट्रिय समितिका सहइन्चार्ज सिंह ब.तामाङ, शंकर बसेल, अध्यक्ष कृष्णकुमार घलान आदिले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा ३ नम्बर प्रदेशका सहइन्चार्ज अक्कल वहादुर थिङ, उपाध्यक्ष विद्युत वज्राचार्य, मुख्यसचिव मोहन बराइली, सचिव सन्तोष सिलवाल, ताम्सालिङ राष्ट्रिय समितिका सहइन्चार्ज शंकर बसेल, केन्द्रीय सदस्य होमकुमारी दोङ, सङ्घीय परिषद सदस्य आशमान तामाङ, धन बहादुर तामाङ, जय गोले, ३ नम्बर प्रदेश सदस्य रहर सिं तामाङ, ताम्सालिङ राष्ट्रिय समितिका उपाध्यक्ष अनिता थिङ, कोषाध्यक्ष रजनी श्रेष्ठ आदिको पनि उपस्थिति रहेको थियो ।

Visits: 1752