चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः प्रधानमन्त्रीलाई डा. भट्टराईको ६ बुँदे सुझाव


काठमाडौं, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् । बिहिबार प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजना गरेको छलफलमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ६ बुँदे सुझाव दिएका छन् ।

छलफलपछि डा.भट्टराईले ट्वीट सन्देशमार्फत् सार्वजनिक जानकारीका अनुसार भट्टराईले चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रुपमा लिँदै तीनवटै शक्तिसँग समानान्तर सम्बन्ध राख्न सुझाव दिएका छन् । ‘महामहिम चीनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको सन्दर्भमा सरकारले मागे अनुसार यस्तो सुझाव दिइयो,’ भन्दै भट्टराईले सार्वजनिक गरेको ६ बुँदे सुझाव यस्ता छन्-

१. मुख्यत: चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिने; तीनवटैसँग समानान्तर सम्बन्ध राख्ने; गतिशील शान्तिवाद/तटस्थताको नीति लिने; BRI र IPS दुवैबाट लाभ लिने; भारत-चीनबीच आर्थिक सेतुको रूपमा विकास गर्ने
२. चीनसंग रेल, सडक आदि connectivity विस्तारमा जोड दिने; रेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने; सडकमा बढी जोड दिने, कर्णाली-गण्डकी-कोशी कोरिडोरलाई प्राथमिकता दिने
३. ऋण/अनुदानभन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिने
४. सुपुर्दगी सन्धी चीनसंग मात्र तत्काल नगर्ने
५. लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत-चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्ने
६. सन्१९६०को नेपाल-चीन मैत्री-सन्धी अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्ने ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।

Visits: 359