भ्रष्टाचाररहित समाज निर्माणको लागि मेरो उम्मेदवारी – गुरुङ


लामो समय कामको शिलशिलामा बिदेश बसेका इन्जिनियर धर्मराज गुरुङ समाजबादी पार्टीको कास्की दुईका उम्मेदबार हुन् । बिश्वका बिभिन्न देश घुमेका गुरुङलाई मेरो देश किन अरु देशजस्तो बन्न सकेन भन्ने चिन्ताले सताईरहन्थे । उनले अब देश बनेन भनेर मात्र बसेर देश नबन्ने निक्र्यौल निकाले र राजनीतिमा हुमिए ।

उनले आँफुले बिभिन्न समयमा हाँसिल गरेका अनुभबहरुलाई देश निर्माणमा लगाउने अठोट गरे । समाजमा राजनीतिक दलहरुबारेको बुझाईलाई बदल्नुपर्छ भनेर उनि समाजबादी पार्टीमा आवद्ध भए । व्रिटिस आर्मीमा र युएनमा काम गरिसकेका गुरुङले भोलीका दिनमा आफ्नो भावी पुस्ताले दुख नपाओस भनेर आँफु राजनीतिमा लागेको बताउछन् । रिटार्यड जीवन बिताउनु पर्ने समयमा किन राजनीति गरेर झमेला ब्यहोर्नु भयो भन्ने प्रश्नमा उनि भन्छन्–‘समाजमा देखिएको समस्याले नेपाल आएपछि निदाउन दिएन , मेरो देश अरु देशजस्तो किन बनेन् ? भन्ने चिन्ताले सतायो । अनि सोचे अब नेतालाई र दललाई मात्र गालि गरेर मात्र हुँदैन । राजनीतिभित्रको फोहोर सफा गर्न लाग्नुपर्छ । बिभिन्न देशहरुमा काम गरेर पाएको अनुभवलाई मेरो देशको बिकासमा लगाउनुपर्छ भन्ने लाग्यो अनि आज मैले पनि यो राजनीति भित्रको फोहोरलाई सफा नगर्ने हो भने मेरो भोलीको पुस्ताले पनि यहि फोहोरको आहलमा बिताउनुपर्छ भनेर म राजनीति भीत्रको फोहोर सफा गर्नका लागि आएको हुँ । ’

देशमा व्याप्त नाताबाद, कृपाबाद, दलबादले आजित जनताहरुलाई यो भुमरीबाट ननिकाल्दासम्म देश नबन्ने गुरुङको भनाई छ । उनी भन्छन् –‘जुन देशमा क्षमताहरुको सम्मान गरिदैन । हरेक ठाममा भनसुन र दामका आधारमा मात्र काम हुन्छ त्यो देश कसरी बन्छ ? जनताहरु स–साना समस्यामा अल्झिरहेका छन् तर सरकार ठुला ठुला कुरा गरिरहेको छ । यस्तो परनिर्भर अर्थतन्त्र भएको देशमा हामीले रेल र पानी जहाजको कुरा गरेर के गर्ने ? रेल र पानी जहाज आईहाल्यो भने पनि हामीले के बस्तु निर्यात गर्ने ? कामदारहरु आज रेल र पानीजहाज नआउँदा पनि जहाजमा हालेर पठाएका नै छौँ । हामीले देशलाई आत्मनिर्भर बनाउन योजना बनाउनुपर्ने आजको आवश्यकता हो । देशलाई आत्मनिर्भर बनाउने अभियानको लागि नै मेरो उम्मेदबारी हो ।’

सरकारी क्षेत्रमा भएको राजनीतिकरणले देशलाई खोक्रो पारेको गुरुङ बताउछन् । उनि भन्छन् – ‘क्षमता भएर पनि आज हरेकदिन युवाहरु बिदेशिरहनु परेको छ । त्यसको मुख्यकारण भनेको सरकारी क्षेत्रमा देखिएको राजनीतिकरण हो । त्यसकारण मेरो चुनावी एजेण्डा राजनीतिकरणको अन्त्य पनि हो । युवाहरुलाई देशमा नै केहि गर्नका लागि सिप बिकास तालिम संचालन गर्ने मेरो स्पष्ट भिजन छ । म कुरामा भन्दा ज्यादा काममा बिश्वास गर्छु । ’

तँपाईहरुलाई त जातीबादी पार्टी पनि भन्छन नि भन्ने प्रश्नमा उनि भन्छन् –‘हामीले कुनै जात विशेषलाई बोकेका छैनौँ बरु सबैलाई समाजमा समान हिसावले हेर्नुपर्छ भनेर आवाज उठाएका छौँ । समाजमा रहेका सबै जातजाती भाषाभाषी मान्ने मान्छेहरुले सम्मानपुर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी होस भन्ने आवाज उठाएका हौँ । सबै जातजातीलाई समान व्यबहार गर्नुपर्छ । सबैले समान अधिकारको उपयोग गर्न पाउनुपर्छ भन्ने एजेण्डा बोक्ने पार्टी कसरी जातिबादी पार्टी हुनसक्छ ? हामी त समाजमा रहेका हरेक प्रकारको उत्पिडनको अन्त्य होस भनेर काम गरिरहेका छौँ । ’

चुनावी अभियानको बेला बिपक्षी दलहरुलाई गाली गर्ने भन्दा पनि उनिहरुले आजसम्म गरेको कामलाई देखाउने गरेको बताउदै गुरुङले भने –‘हामीलाई अन्य दललाई गाली गरेर बस्ने फुर्सद छैन् । तर उनिहरुले के के गरेका छन् भनेर थाह पाउने अधिकार त जनताको पनि त हो नि ? त्यो पनि कुन दलले नेपालको सन्दर्भमा कति काम गरेका छन् भन्ने कुरा जनतालाई प्रष्ट थाह छ । ’

अहिले उठेको सिमा बिबादको बिषयमा बोल्दै गुरुङ –‘हाम्रोजस्तो खुल्ला सिमाना भएको देशमा यस्ता समस्याहरु आईरहन्छन् । हाम्रो परनिर्भरताले गर्दा भारतले हामीलाई हेपेको हो । अव पनि हामीले सिमाना पर्खाल नहाल्ने हो भने हाम्रो भुभाग सुरक्षित रहँदैन । त्यसैले अव सिमानामा पर्खाल लाउन सुरु गर्नुपर्छ । ’

– सौगात पोखरेल,
News courtesy: https://www.parichaynetwork.com

Visits: 675