काठमाडौं, २७ कात्तिक । समाजवादी नेपाल र समाजवादी पार्टी (लोहियावादी) बीच पार्टी एकीकरण भएको छ ।
बुधबार समाजवादी पार्टी र समाजवादी पार्टी (लोहियावादी) बीच एकीकरण भएको हो । एकिकरण घोषणा सम्झौतामा लोहिया अध्यक्ष नन्दन यादव र सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन । सो अवसरमा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र सह- अध्यक्ष श्रेष्ठले लोहियावादी पार्टीका अध्यक्ष यादव, महासचिव प्रमोद कुमार रायमाझी लगायतका नेता तथा कार्यकर्तालाई टिका लगाएर स्वागत गरेका थिए ।
समाजवादी पार्टी (लोहियावादी) डा. राम मनोहर लोहियाको समाजवादी सिद्धान्त अनुसार अगाडि बढ्दै आएको पार्टी हो । ‘समुन्नत संघीय समाजवाद स्थापनार्थ’ दुबै पार्टीबीच एकता भएको दुबै पार्टीका नेताहरुले बताएका छन् ।
एकीकरणपछि समाजवादी पार्टी (लोहियावादी) का सम्पूर्ण केन्द्रीय तथा जिल्ला पदाधिकारीलाई एकीकृत पार्टीमा सम्मानपूर्वक स्थान दिने र अन्य विषय आपसी समझदारीमा टुङ्ग्याउने जनाइएको छ ।
यता समाजवादी पार्टी (लोहियावादी) सँग एकता भएपछि डा. भट्टराईले मुलुकमा समाजवादी ध्रुवीकरणको प्रक्रियाले तीव्रता पाएको प्रतिक्रिया दिएका छन् ।
