समाजवादीका कार्यकर्ताले पालना गर्नुपर्ने २६ बुँदे आचार-व्यवहार

काठमाडौं । समाजवादी पार्टीले पार्टी सदस्य तथा कार्यकर्ताहरुले पालना गर्नुपर्ने २६ बुँदे आचार–व्यवहार तयार गरेको छ ।

गत कात्तिक २९ र ३० गते सम्पन्न समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकले उक्त आचार–व्यवहार तयार पारेको हो ।

जसमा कार्यकर्ताहरुले कसरी प्रस्तुत हुने वा आफूलाई सभ्य र परिस्कृत बनाउने भन्ने उल्लेख छ ।

समाजवादीले तय गरेको उक्त आचार–व्यवहार अन्य पार्टीका कार्यकर्ता तथा सफल व्यक्ति बन्न चाहनेहरुका लागि समेत सोचनीय छ ।

२६ बुँदे आचार–व्यवहारः

१ आदेश र उपदेशभन्दा परिवर्तन आफूबाट सुरु गरौ ।
२ समयको पालना गरौ । तोकिएको समयमा बैठक र कार्यक्रम सुरु गरौ ।
३ छोटो र मिठो बोलौ ।
४ ज्ञानको स्रोत र इतिहासको निर्माता मूलतः जनता हुन् भन्ने यथार्थ नबिर्सौ ।
५ जनताको कुरालाई विनंम्रतापूर्वक सुन्ने र ग्रहण गर्ने गरौ ।
६ कार्यक्रम भड्किलो, खर्चिलो र आडम्बरयुक्त नबनाऔ ।
७ आशनग्रहण र सम्बोधनमा कम समय प्रयोग गरौ ।
८ व्यक्तिगत घोचपेच र आरोप प्रत्यारोप नगरौ ।
९ आत्मप्रशंसक होइन, आत्मआलोचक बनौ ।
१० आफ्नाे कुरा अपिलको शैलीमा राखौ ।
११ अध्ययनशील, मेहनती र सक्रिय बनौ ।
१२ भाग्य होइन कर्ममा विश्वास गरौ ।
१३ तर्कमा होइन तथ्यमा विश्वास गरौ ।
१४ शंकासहित विश्वास गरौ ।
१५ जड होइन गतिशील बनौ ।
१६ परम्पराको नाममा अन्धविश्वासमाथि होइन, नयाँ ज्ञान र विज्ञानमा विश्वास गरौ ।
१७ जात, लिंग, वर्ग, क्षेत्र, पेशा, शिक्षा र धर्मको आधारमा कसैको अपमान नगरौ ।
१८ श्रम संस्कृतिको निर्माण गरौ र सबैखाले श्रमलाई उच्च सम्मान गरौ ।
१९ भ्रष्टाचार र व्यक्तिचारबाट टाढै रहौ ।
२० पार्टीभित्र छलछाम र गुटबन्दी नगरौ ।
२१ पदलाई पुरस्कार होइन, जिम्मेवारीको रुपमा ग्रहण गरौ ।
२२ सत्ता र शक्तिमा होइन, सत्यमा विश्वास गरौ ।
२३ सामूहिक नेतृत्वको विकास गरौ ।
२४ अन्धभक्त र अराजक होइन, आलोचक र अनुशासित बनौ ।
२५ निषेध र सम्झौता होइन, एकता संघर्ष रुपान्तरणको विधि पालना गरौ ।
२६ परिणाममुखी काम गरौ । आफ्नाे कामको व्यवस्थित रिपोर्ट बनाउने र बुझाउने गरौ ।

Source: https://www.sarbajanik.com

Visits: 881