दूध खानका लागि गधा पालेर हुँदैनः वरिष्ठ नेता राई

धरान, ९ मंसिर २०७६ । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले दूध खान चाहनेले गधा पालेर नहुने बताएका छन् ।

धरानमा सोमबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता राईले सो कुरा बताएका हुन् । समाजवादी पार्टी धरान उप-महानगरपालिका प्रमुख पदका उम्मेद्वार गजेन्द्र इस्बाेलाई गाईको संज्ञा दिँदै नेता राईले कुनै राजकीय जिम्मेवारी नपाए पनि इस्बाेले धरान र धराने जनताको लागि दिएको योगदान नै इस्बाेकाे चुनाव जित्ने आधार भएको दाबी गरे ।

उनले नेकपा र कांग्रेसलाई लक्षित गर्दै ती पार्टीहरु र तिनका उम्मेदवारबाट देश र जनताको कुनै पनि अपेक्षा पूरा नहुने ठोकुवा समेत गरे ।

नेता राईले आफ्नो पार्टी सानो हो भनेर नपत्याउने मतदातातर्फ लक्षित अर्दै भने -“चुनावमा कसले जित्छ भन्ने थाहा हुने भए जित्नेलाई विजयी घोषणा गरे हुन्छ तर त्यस्तो हुँदैन । जनताले दिने मतका आधारमा विजयी हुने भएकाले जनताले योग्य उम्मेद्वारलाई मतदान गर्नुपर्छ , जिताउनुपर्छ ।”

सभालाई सम्बोधन गर्दै नेता राईले प्रधानमन्त्रीको चुलाचुलामा ग्याँसको नारा इन्डक्सन चुलामा पुगेको भन्दै जनता जिल्याउने कुरामा ओली माहिर रहेको टिप्पणी गरे । “अबको ९ वर्षमा लुम्बिनीमा रेल पुग्छ भन्ने ओलीको भनाई गफाडीको गफ मात्रै हो,” राईले भने ।

आफ्नो पार्टीले संविधान संशोधनको मुद्दा अघि सार्दा राष्ट्रघात भयो भन्ने ओलीको राष्ट्रवाद प्रदेश राजधानी घोषणा गर्दा पुष्टि भएको बताए । विजयपुरजस्तो ऐतिहासिक राजनीतिक थलो रहेको धरानलाई प्रदेश राजधानी बनाउन नचाह्ने ओलीबाट मुलुक र जनताले सुख र समृद्धि नपाउने नेता राईले जिकिर गरे ।

नेकपालाई जनताले मत दिएर ठूलो पार्टी बनाएको तर नेकपा तानशाहतर्फ उन्मुख भएको भन्दै राईले ओली आफै संविधान मिच्ने बाटोमा अघि बढेको आरोप लगाए ।

राईले भने -“मिडियालाई मुठ्ठीमा पार्न खोज्ने, पूर्व कर्मचारीलाई सरकारको विरोध गर्न नदिने जस्ता अनेकन विधेयकहरुबाट नेकपा र ओलीको तानशाह प्रस्ट भएको छ ।” अब धरान लगायत देशभर हुने उप-निर्वाचनमा नेकपालाई सबक सिकाउन जनताले समाजवादी पार्टीलाई हात चिन्हमा मत दिनुपर्ने भन्दै राईले ओली र नेकपा प्रदेशलाई अधिकार नदिएर पङ्गु बनाउने र सङ्घीयतालाई सखाप पार्न लागि परेको जिकिर गरे ।

राष्ट्र सङ्घले दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० भित्रमा महिला र पुरुष ५०/५० प्रतिशत अनिवार्य सभागिताको कुरा गरे पनि समाजवादी पार्टी नेतृत्वको प्रदेश नं २ को सरकारले १० वर्ष अघि नै लोकसेवा लगायत नीति निर्माण र सबै तहमा महिला र पुरुषलाई समान प्रतिनिधित्व दिलाउने नीति ल्याइसकेको राईले स्पस्ट पारे ।

पुराना पार्टीका पुरानो सोचका नेताहरुको कारण धरान बैंश नै नआइ बूढो भएको सहर बनेको टिप्पणी गर्दै पूर्वमन्त्री राईले अब धरानलाई विकासको गतिमा र जिवित सहर बनाउन हात चिन्हमा मतदान गर्न धरानवासीलाई आग्रह गरे ।

news source: www.sarbajanik.com

Visits: 908