मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन आन्दोलन सुरु भयो : उपप्रधानमन्त्री यादव

मोरङ — उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् ।

मैथिली एशोसिएशन नेपालको आयोजनामा आइतबारदेखि विराटनगरमा सुरु भएको दुई दिने १७ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको उद्घाटनपछि समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले यस्तो बताएका हुन् ।

‘हामीले आन्दोलनमार्फत मुलुकमा संघीय गणतन्त्र स्थापना गर्न सफल भएकोहौँ । अब मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने आन्दोलन सुरु भएको छ,’ यादवले भने, ‘नेपालमा मिथिला क्षेत्रमा मैथिली भाषामा शिक्षाको व्यवस्था गर्नुपर्छ ।’ मैथिली संस्कारको संरक्षणका लागि मैथिली भाषाको संरक्षण आवश्यक रहेको उनको भनाइ छ । ‘नेपालको दोस्रो ठूलो भाषा मैथिली कमजोर अवस्थामा छ,’ उनले भने, ‘मैथिली भाषा समाप्त भए संसारको प्राचीन मिथिला संस्कार र संस्कृतिसमेत लोप भएर जान्छ त्यसैले यसको संरक्षण आवश्यक छ ।’

सम्मेलनमा तीन दर्जनभन्दा बढी व्यक्तिलाई मिथिला रत्नले सम्मान गरिएकाे थियो।सम्मेलनमा नेपाल, भारत, अमेरिकालगायतका देशबाट २ सय बढी प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित : पुस ६, २०७६ २०:२४
News source: ekantipur.com

Visits: 515