राजपा-सपा एकतामा नयाँ खलनायकको प्रवेश !

२० माघ, काठमाडौं । गत शुक्रबार नेपाल मधेसी निजामती कर्मचारी मञ्चको १३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा समाजवादी पार्टी (सपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादव दुवैको भाषणको आशय थियो, पार्टी एकता आवश्यक र अपरिहार्य छ ।

दुई पार्टीका अध्यक्षहरूको कुरा सुन्दा लाग्थ्यो, सपा र राजपाबीचको एकता टाढा छैन । संयोजक यादव जनताले पार्टी एकता गर्न म्यान्डेट दिएको बताउँछन् ।

‘राजपा र सपाबीचको एकता कार्यकर्ता र नेताको मात्रै चाहना होइन देशकै आवश्यकता हो’ संयोजक यादवले अनलाइनखबरसँग भने, ‘कुनै पनि हालतमा पार्टी एकता गरेरै छाड्छौं ।’

घट्नाक्रमहरू केलाउँदा भने दुई पार्टीबीचको एकता नजिक पुगेको देखिँदैन । राजपाले सपाको सरकारबाट बहिर्गमनलाई एकताको पहिलो शर्त बनाएको चर्चा पनि थियो ।

तर, सपा सरकारबाट बाहिरिएको एक महिना भन्दाबढी भइसक्दा पनि एकताको कुनै प्रयास भएको छैन । सपा अध्यक्ष उपेन्द्र यादवले गत पुस ८ मा उपप्रधानमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

बाहिर हल्ला भएजस्तो पार्टी एकताका विषयमा कुनै ठोस प्रगति नभएको राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा बताउँछन् । उनी भन्छन्, ‘अध्यक्ष मण्डल तहमा वार्ताबारे कुनै छलफल भएको छैन ।’

राष्ट्रिय सभा सदस्य निर्वाचन र उपचुनावको निर्वाचनले पनि दुई दललाई झन टाढा पुर्‍याएको झाको भनाइ छ ।

सपाकी उपाध्यक्ष रेणुकुमारी यादव पनि दुई पार्टीबीच एकता वार्ता हुन नसकेको बताउँछिन् । उनी भन्छिन्, ‘संघीय सरकारबाट हाम्रो पार्टी बाहिरिएपछि एकता वार्ता अघि बढ्न सकेको छैन, यद्यपि एकताको प्रयास जारी छ ।’

‘म भविष्यवेत्ता हुँ र ?’

पापको भागिदार किन्न बन्ने भन्दै प्रदेश २ सरकारकी भौतिक पूर्वाधारमन्त्री डा. डिम्पलकुमारी झाले १४ माघमा पदबाट राजीनामा दिइन् । राजपा संसदीय दलको कार्यालयमार्फत मंगलबार मुख्यमन्त्रीलाई बुझाइएको राजीनामा पत्रमा ‘राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने अवस्था नभएकाले’ पद त्याग्नु परेको उल्लेख छ ।

नातामा राजपा अध्यक्ष मण्डलका सदस्य अनीलकुमार झाका श्रीमती रहेका राज्यमन्त्री झाको राजीनामाले सपा नेतृत्वको गठबन्धन सरकारभित्र कुन हदसम्मको असन्तुष्टि छ भन्ने देखाउँछ । तर यो राजीनाको विषयमा राजपाभित्रै दुई थरी मत देखिन्छ ।

एकथरीको बुझाइमा यो सपासँग अलग हुन राजपाले आफ्ना अध्यक्ष मण्डलका सदस्यकी श्रीमतीमार्फत निँहु मात्रै खोजेको हो । अर्कोथरीले भने यसलाई व्यक्तिगत असन्तुष्टिको कारण दिएको राजीनामाको रुपमा मात्रै बुझ्नुपर्ने बताउँछन् ।

‘एक जना मन्त्रीको राजीनामाले समग्र पार्टीको धारणा प्रतिनिधित्व गर्दैन’ अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादव भन्छन्, ‘प्रदेश २ सरकारको परिवर्तनको विषय नै उठेको छैन ।’

प्रदेश २ सरकार परिवर्तन हुने संभावना छ की छैन ? भन्ने प्रश्न सुन्ने बित्तिकै राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा भने आक्रोशित देखिए । ‘प्रदेश २ को सरकार के हुन्छ भन्नलाई म भविष्य वेत्ता होइन हुँ र ?’ झाको जवाफ छ ।

फेरिएको समीकरण

७ माघमा राजपाका दुई वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र महासचिवले अध्यक्ष मण्डलका संयोजकलाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै संस्थागत निर्णय नगरी संघीय सरकारमा सहभागी नहुन चेतावनी दियो । संविधान संशोधन, रेशम चौधरीको रिहाइलगायतका माग सम्बोधन नभई सरकारमा सहभागी हुन नहुनेमा उनीहरूको जोड देखिन्थ्यो ।

यो पत्रले संघीय सरकारमा जान हतारिएका नेताहरूलाई केही हच्कायो पनि । तर उनीहरूले ‘मन्त्री बन्ने’ प्रयासलाई भने जारी राखेको राजपाका नेताहरू बताउँछन् ।

‘संघीय सरकारमा जान खुट्टा उचालेर बसेका साथीहरूले समाजवादी पार्टीसँग एकता चाहेका छैनन्’ राजपाका एक नेता भन्छन्, ‘नेकपाले प्रदेश २ को सरकार ढाल्ने शर्तमा मात्रै आफूलाई मन्त्री बनाउँछ भन्ने बुझाइ उहाँहरूमा देखिन्छ ।’

राजपा अध्यक्ष मण्डलका सदस्य अनील झाकी श्रीमती डा. झाको राजीनामालाई पनि कतिपयले संघीय सरकारमा राजपाको सहभागितासँग जोडेर हेर्ने गरेका छन् । ‘राजपा प्रदेश २ सरकारबाट जुनसुकै बेला बाहिरिन सक्छ भन्ने सन्देश दिएर संघीय सरकारमा सहभागी हुने रणनीति अन्तर्गत उहाँको राजीनामा आएको हो’ एक नेताले अनलाइनखबरसँग भने ।

जुन विन्दुमा एकता प्रक्रिया रोकिएको थियो

संघीय संसदमा तेस्रो र चौथो शक्तिको रुपमा रहेका सपा र राजपाबीचको एकतामा नेता व्यवस्थापन नै प्रमुख बाधक रहेको जानकारहरू बताउँछन् । आधा दर्जन अध्यक्ष बनाउँदाको पीडा कस्तो गाह्रो हुँदो रहेछ भन्ने राजपा नेताहरूलाई जति कसलाई थाहा होला ?

त्यही अनुभवबाट सिकेर आफूहरू बढीमा तीन अध्यक्ष बनाउनुपर्ने पक्षमा रहेको राजपा अध्यक्ष मण्डलका एक सदस्य बताउँछन् । खस आर्य क्लस्टरबाट डा. बाबुराम भट्टराई, मधेसी क्लस्टरबाट महन्थ ठाकुर र आदिवासी जनजाति क्लस्टरबाट अशोक राईलाई अध्यक्ष बनाउन गरेको प्रस्ताव उपेन्द्र यादवले अस्वीकार गरेको ती सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

जबकी समाजवादी पार्टी बन्नुअघि नयाँ शक्ति पार्टीले खस आर्य, मधेशी र आदिवासी जनजाति क्लस्टरलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै आएको थियो ।

‘पार्टीलाई राष्ट्रिय स्वरुप प्रदान गर्न व्यक्तिगत स्वार्थ भन्दामाथि उठ्न गरेको यो प्रस्ताव उपेन्द्रजीले सिधै अस्वीकार्नु भयो, पार्टी एकता नहुुनुको जड नै यही हो’, नाम उल्लेख गर्न नचाहने ती सदस्य भन्छन्, ‘अब भने संघीय सरकारको मन्त्री बन्न चाहनेहरूले एकता वार्तामै अवरोध पुर्‍याएका छन् ।’

– सन्त गाहा मगर
www.onlinekhabar.com, मा प्रकाशित २०७६ माघ २० गते

Visits: 381