राजपा र नेकपाको तालमेलले प्रदेश २ सरकारलाई असर गर्दैन : यादव

उदयपुर, २० माघ २०७६, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा र नेकपाबीचको पछिल्लो चुनावी तालमेलले २ नम्बर प्रदेश सरकारलाई कुनै असर नगर्ने बताएका छन् ।

पार्टी प्रदेश नम्बर एकले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उदयपुर आइपुगेका अध्यक्ष यादवले आज अपरान्ह पत्रकार भेटघाटमा सरकार सञ्चालन र चुनावी तालमेल फरक–फरक विषय भएकाले त्यसले २ नम्बर गठबन्धनको सरकारलाई कुनै असर नगर्ने स्पस्ट पारे। राजपा र समाजवादी पार्टीबिचको पार्टी एकीकरण प्रक्रिया घनिभूतरुपमा अघि बढेकाले २ नम्बर प्रदेश सरकार ढल्नुको साटो अझ मजबुत भएर जाने यादवले ठोकुवा गरे। अध्यक्ष यादवले सरकार ढाल्नेगरी ल्याइने अविश्वासको प्रस्ताव कुनै हालतमा पारित नहुनेमा आफू विश्वस्त रहेको बताउँदै त्यस्तो अवस्था आए कडा रुपले सामना गर्ने बताए ।

अध्यक्ष यादवले नयाँ संविधानलाई ‘दियो बाल्ने र ब्ल्याकआउट गर्ने’ बीचको साझा सम्पत्ति बनाउन खोज्दा आफू सरकारबाट बाहिरिनु परेको बताए। पूर्व कानुनमन्त्री समेत रहेका यादवले भने, ‘संविधान संशोधनको एजेन्डामा सहमतिका साथ सरकारमा गएका थियौं, सबैको साझा संविधान बनाउन मन्त्रीपरिषदमा पेस गर्दा प्रधानमन्त्री इच्छुक नदेखिएपछि बाहिरिएका हौं।’

सरकारमा गएको डेढ वर्षसम्म पनि संविधान संशोधनका मुद्दाले प्राथामिकता नपाएपछि जनताको भावनाअनुसार सरकारबाट बाहिरिएको उनको भनाइ छ। अध्यक्ष यादवले सरकार सञ्चालनको विषयमा वर्तमान सरकार मुलुकको समस्या समाधानमा पूर्णरुपले असफल भएको बताएका छन्।

– डिल्लीराम खतिवडा,
www.ekantipur.com, प्रकाशित: माघ २०, २०७६

Visits: 696