मुलुकको संरचनागत विभेद अन्त गर्न संविधान संशोधन अपरिहार्यः उपेन्द्र यादव

जनकपुरधाम । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले मुलुकको संरचनागत विभेद अन्त गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् ।

सोमबार नेपाल बौद्धिक पेसाकर्मी महासंघले जनकपुरमा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक अन्तरक्रियामा अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

उनले वर्तमान संविधानले संघीय प्रणाली, निर्वाचन प्रणाली, शासकीय स्वरुप र न्याय प्रणाली समेत अपूर्ण र विरोधाभासपूर्ण रहेको बताए ।

उनले वर्तमान संविधानलाई सबै जाति, धर्म, क्षेत्र र वर्गले अपनत्व ग्रहण गर्न नसकेको बताए । उनले भने, ‘यो संविधान न त संविधान सभा ले जारी गरेको छ, न त जनताको समर्थन प्राप्त गरेको छ । दूई चार जनाले ड्राफ्ट गरेको किताबलाई ह्विप लगाएर पास गराइएको छ । त्यसैले यस संविधान प्रति जनताले अपनत्व ग्रहण गर्न सकिरहेको छैन ।’

कार्यक्रममा समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन विना मुलुकले राजनीति स्थिरता प्राप्त गर्ने अवस्था नरहेकोले संविधान संशोधनको लागि शसक्त रुपमाम आन्दोलन अघि बढाउनुपर्ने बताए ।

श्रेष्ठले विगतमा सरकारले संविधान संशोधनको विषयमा समाजवादी पार्टीसंग गरेको सम्झौता कार्यन्वयन नगरेकोप्रति रोष प्रकट गर्दै भने, ‘सहमतिमा संविधान संशोधन गर्न सरकार तयार भएन अब सडक बाहेकको विकल्प हामीसंग छैन ।’

कार्यक्रममा राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान जारी गर्ने संविधानसभाकै ६० प्रतिशत सभासदले संविधान संशोधन गर्नुपर्ने भनिसकेकाले संविधान संशोधनको विकल्प नरहेको बताए

बौद्धिक पेशाकर्मी महासंघका अध्यक्ष कृष्णा शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष नवराज सुवेदीले संविधान संशोधनको अपरिहार्यता विषयमा ९ पेज लामो कार्यपत्र प्रस्तुत गरेका थिए ।

News source: www.sarbajanik.com

Visits: 3740