व्यक्तिका लागि संविधान संशोधन दुर्भाग्य : मुख्यमन्त्री राउत

जनकपुर, फाल्गुन १२, २०७६ — प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले व्यक्तिको इच्छा पूरा गर्न संविधान संशोधनको तयारी गर्नु मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताएका छन् । उनले संविधानप्रति मधेसी, आदिवासी जनजाति र उत्पीडित वर्गको असहमति हुँदाहुँदै व्यक्तिविशेषको अभिष्ट पूरा गर्न संशोधनको तयारी गर्नु संघीय सरकारको बेइमानी भएको आरोप लगाए ।

सोमबार मुख्यमन्त्री राउतले भने, ‘मधेसी, आदिवासी–जनजाति र उत्पीडित वर्गको माग प्राथमिकतामा पर्दैन। तर, कुनै खास व्यक्तिको स्वार्थ र अभिष्ट पूरा गर्न संविधान संशोधनका लागि कार्यदल बन्छ भन्ने यो भन्दा दुर्भाग्य के होला ?’ संघीय सरकारको नेतृत्व गरिरहेको नेकपाले वामदेव गौतमलाई राष्ट्रियसभामा लगेर प्रधानमन्त्री बनाउनेसम्मको बाटो खोल्न संविधान संशोधनका लागि आइतबार कार्यदल बनाएको छ।

संविधान संशोधनकै एजेन्डामा संघीय सरकारबाट बाहिरिएको समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका राउतले नेता गौतमका लागि संविधान संशोधन गर्न तयार हुने नेकपा मधेसको एजेन्डामा ‘रिजिड’ देखिएको आरोप लगाए।

‘पार्टीका खास व्यक्तिका लागि संविधान संशोधन गर्नु राम्रो होइन,’ राउतले भने, ‘यस्तो व्यवहारले उत्पीडनमा रहेका समुदायले सरकारसँग के अपेक्षा गर्छ।’ राउतले सबैको संविधान बनाउन र मुलुकमा स्थिरता, शान्ति र विकास ल्याउन राजनीति एजेन्डामा संशोधनको तयारी गर्न नेकपालाई सुझाव दिए।

‘संघीय सरकारको नेतृत्व गर्ने पार्टी र नेताको मनोवृत्ति संशोधनको तयारीबाट प्रस्ट भएको छ,’ राउतले भने, ‘नागरिकता, जनसंख्याको आधारमा प्रतिनिधित्व र प्रदेशको सीमाकंनमा अझै हाम्रो बिमति छ। यो मामिलामा संशोधनका लागि आग्रह गर्दा सरकार कहिल्यै तयार भएनन्। तर, आफ्ना व्यक्तिको निजी इच्छा पूरा गर्न संशोधनको लागि तयार हुनु दुर्भाग्य हो।’

– अजित तिवारी
News courtesy: ekantipur.com

Visits: 596