ललितपुर । ३१ अगष्ट २०१९ । समाजवादी पार्टी प्रदेश नं ३ को अध्यक्षमा सोनामसिंह स्याङ्तन चयन भएका छन् ।
तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भई समाजवादी पार्टी बनेपछि शनिबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङ भवनमा कार्यक्रमको आयोजना गरी दुवै दलको प्रदेश नं ३ को समिति समायोजन गरी स्याङ्तनलाई अध्यक्ष बनाइएको हो ।
समितिको उपाध्यक्षमा न्हुच्छेलाल महर्जन, विद्युत बज्रचार्य, मञ्जु अन्सारी, बन्दना सुवेदी र राजु नेपाल चयन भएका छन् ।
मुख्यसचिबमा माेहन बराइली, सचिवमा सन्तोष सिलवाल, मानुषि यमी भट्टराई, एक बहादुर र कोषाध्यक्षमा ईन्द्र गोले तामाङ छन् ।
सोही कार्यक्रममा कृष्णकुमार घलानको अध्यक्षतामा ताम्लालिङ राष्ट्रिय समिति, मनरत्न शाक्यको अध्यक्षतामा नेवा राष्ट्रिय समिति, दावाछिरी शेर्पाको अध्यक्षतामा शेर्पालुङ राष्ट्रिय समिति, दलमर्दन कामीको अध्यक्षतामा दलित (शिल्पी) विशेष प्रदेश समिति समेत घोषणा गरिएको छ ।

ताम्सालिङ राष्ट्रिय समिति, नेवा राष्ट्रिय समिति लगायत पहिचानजन्य समितिहरुलाई समाजवादी पार्टीको प्रदेश समितिअन्तर्गत नै राखिएको छ । तर यस सम्बन्धमा आदिवासी जनजाति नेताहरुको असन्तुष्टि रहेको छ । उनीहरुले पहिचानजन्य समितिहरुलाई शक्तिशाली बनाउनुपर्ने माग राख्दै आएका छन् ।
शनिबार नै जय गोलेको अध्यक्षतामा समाजवादी तामाङ संघ र सत्यनारायण डंगोलको अध्यक्षतामा समाजवादी नेवाः संघ समेत घोषणा गरिएको थियो । कार्यक्रममा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत नेताहरुको सहभागिता थियो ।
Source: sarbajanik.com