वैचारिक रूपले नेकपा र काङ्ग्रेस जरासन्ध जस्तै टाँसिएका छन् : सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, १२ मङ्सिर । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस एउटै सिक्काका दुई पाता भएको बताउँदै यी दुई पार्टी अलग अलग विचार लिएर जन्मिए पनि वैचारिक रूपमा जरासन्ध जस्तै टाँसिएको बताए । उनले उक्त कुरा यहि बिहिवार काठमाडौँको खुसिबुँमा भएको एक कार्यक्रममा बताएको हो ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले महाभारतमा मगधका राजा बृहद्रथका दुई रानीबाट बच्चा नजन्मिंदा चन्दकौशिक नामक ऋषीले दिएको बुटी दुई रानीलाई आधा आधा खान दिंदा दुई रानीबाट जन्मिएको दुईवटा अर्द्धजीउ जरा नामको राक्षसनीले जोडेर जरासन्ध जन्मे जस्तै फरक फरक नामका काङ्ग्रेस र नेकपा एउटै विचारमा टाँसिएको बताए ।

सांसद श्रेष्ठले सङ्घीयता, समावेशिता, समानुपातिकता लगायत धेरै विषयमा काङ्ग्रेस र कम्युनिष्टको एउटै विचार भएको बताए । उनले भने, ‘सङ्घीयताका सन्दर्भमा ती दुबै पार्टी प्रशासनिक सङ्घीयताको पक्षमा छ भने, समाजवादी पार्टी पहिचानसहितको सङ्घीयताको पक्षमा छ । जबसम्म देशमा दश जोड एकको राष्ट्रिय पहिचानसहितको सङ्घीयता स्थापित हुँदैन तबसम्म वर्तमान एकल जातीय राज्यविरुद्धको सङ्घर्ष जारी रहन्छ ।’

श्रेष्ठले भने, ‘काङ्ग्रेस कम्युनिष्ट दुबै पार्टीले सङ्घीयतालाई सिद्धान्तको रूपमा ग्रहण नगरी राज्यको संरचना र शासन प्रणालीको रूपमा मात्र ग्रहण गरेको हुँदा तिनीहरूले सङ्घीयतालाई अपाङ्ग बनाएको छ । केन्द्रमा साझा शासन र प्रदेशहरूमा स्वशासनको मान्यताबाट विचलित भएको छ । त्यसैले सङ्घवादको सिद्धान्तको कार्यान्वयनको लागि समाजवादी पार्टी रोज्नुको विकल्प छैन ।’

श्रेष्ठले शासकीय स्वरूपमा पनि आफ्नो पार्टी अग्रगामी रहेको बताउँदै भने, ‘पुराना पार्टीहरू शासकीय स्वरूपमा पनि यथास्थितिवादी रहेको छ । उनीहरू संसदीय व्यवस्थाको पक्षमा छ भने समाजवादी पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा छ । संसदको संरचनाको सन्दर्भमा पनि ती दुबै पार्टी मिश्रित निर्वाचन प्रणालीबाट चुनिएको संसदको पक्षमा छ भने हामी पूर्ण समानुपातिक संसदको पक्षमा छौँ ।’ उनले काङ्ग्रेस र कम्युनिष्ट न्यायपालिकाको सन्दर्भमा पनि एकात्मक न्यायप्रणालीको पक्षमा रहेको आरोप लगाए ।

उनले समाजवाद कार्यान्वयनको सन्दर्भमा काङ्ग्रेस र कम्युनिष्ट दुबै असफल भएको बताउँदै अब नैपाली समाज सुहाउँदो बहुराष्ट्रियतासहितको समाजवादको आवश्यकता भएको बताउँदै जातीय र वर्गीय मुक्तिलाई सँगसँगै अगाडी बढाउन नै सङ्घवाद र समाजवादलाई दुई ‘वाद’को रूपमा अङ्गीकार गरी एकाइसौँ शताब्दीको विश्व ज्ञान र चेतनामा आधारित सम्मुनत सङ्घीय समाजवादको मौलिक सिद्धान्त विकास गरेको बताए ।

समुन्नत सङ्घीय समाजवादले समानुपातिक समावेशीकरण सहितको सङ्घीय राज्य बनाई राष्ट्रिय एकता मजबुत बनाउनुका साथै देशलाई समृद्धि, सुशासन र समाजवादको बाटोमा लाने बताउँदै समाजवादी विचार बोकेका नेता र कार्यकर्ताहरूले सिद्धान्त मात्र नभई आफ्नो कार्यशैली र आचरण पनि समाजवादी बनाउनुपर्ने बताए । उनले देशको भविष्यलाई उज्वल बनाउन उपनिर्वाचनमा समाजवादी पार्टीलाई विजयी बनाउनुपर्ने बताए ।

Visits: 3120