१ र ३ न प्रदेशका सम्पर्क समितिहरू समायोजन: आफ्नो विदेश भ्रमण र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हीतमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार हो – सहअध्यक्ष श्रेष्ठ

ललितपुर माघ ५ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफ्नो विदेश भ्रमण र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हीतमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार भएको बताएका छन् । उनले भने, ‘सरकारले गरेको नीतिगत भ्रष्टाचार पत्ता लगाउन फाइल पल्टाएर मात्र पुग्दैन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षहरूको विदेश भ्रमणको बिजनेस क्लासको टिकेट, तारे होटलको विल र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको पक्षमा मन्त्रीपरिषदले गरेका नीतिगत निर्णयहरू हेरे प्रष्ट हुन्छ ।’

प्रतितिधिसभाको सदस्य समेत रहेका पूर्वमन्त्री श्रेष्ठले उक्त कुरा समाजवादी पार्टीको गैरभौगोलिक विशेष प्रदेश अन्तर्गत यहि शनिवार भएको १ नम्बर र ३ नम्बर प्रदेशका सम्पर्क विशेष जिल्ला समितिहरू समायोजन कार्यक्रममा बताएका हुन् । उनले नीतिगत निर्णयको नाममा देशमा ठूलो परिमाणको भ्रष्टाचार भइरहेको बताउँदै नेकपा अध्यक्षहरूको विदेश भ्रमण खर्चको विवरण छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरे ।

नेता श्रेष्ठले मन्त्रीपरिषदले गर्ने प्रत्येक निर्णय नीतिगत नहुने भन्दै त्यसको बहानामा अख्तियार पञ्छिन नमिल्ने बताए । अख्तियारले मन्त्रीपरिषदको नीतिगत निर्णय छानबिन गर्न नमिल्ने भन्नु गलत भएको बताउँदै उनले भने, ‘आम जनताको हीतका लागि नीति बनाउनु मात्र नीतिगत निर्णय हो । व्यक्तिगत लाभका लागि स्वार्थ समूहको पक्षमा गर्ने मन्त्रीपरिषदको निर्णय नीतिगत भन्न मिल्दैन । त्यसको छानबिन गर्नै पर्छ ।’

‘पहिचानसहितको संघीयता, सुशासन, समृद्धि र समावेशिता’को नाराका साथ हाल पार्टीले सञ्चालन गरेको पार्टी विस्तार तथा सुदृढीकरण (विसु) अभियानमा पार्टीले अगाडी सारेको पहिचानसहितको संघीयता, प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, भ्रष्टाचार उन्मूलन, सुशासन, समतामूलक समृद्धि लगायतका एजेण्डाहरू लिएर जनताको बीचमा जान तथा आफू जहाँ बसिरहेको हो, त्यहाँ न्युनतम एउटा समिति गठन गरेर संगठन विस्तारको काममा सघाउ पुर्याउन गौरभौगोलिक विशेप प्रदेशका नेता कार्यकर्ताहरूलाई श्रेष्ठले निर्देशन दिएका छन् ।

कार्यक्रममा समाजवादी पार्टी गैरभौगोलिक बिशेष प्रदेश समिति अन्तर्गत महेन्द्र राईको अध्यक्षतामा ५१ सदस्यीय समाजवादी पार्टी १ नम्बर सम्पर्क विशेष जिल्ला समिति र मीन बहादुर मोक्तान तामाङको अध्यक्षतामा ४५ सदस्यीय ३ नम्बर सम्पर्क विशेष जिल्ला समिति समायोजन भएको छ ।

गैरभौगोलिक विशेष प्रदेश समितिका अध्यक्ष इश्वर रिजालको अध्यक्षता तथा पार्टीका सहअध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्पर्क समितिका पूर्व इन्चार्ज भुपेन्द्र नेम्बाङ, गैरभौगोलक विशेष प्रदेशका सहइन्चार्ज द्वय देवराज राई र दिपेन्द्र आङदेम्बे, शिल्पी विशेष प्रदेश समितिका अध्यक्ष दलमर्दन कामी तथा गैरभौगोलक प्रदेशका उपाध्यक्ष रिता राईले शुभकामना मन्तव्य राखेका थिए ।

गैरभौगोलक प्रदेशका सचिव गोपाल राज राईले सञ्चालन र मुख्य सचिव पदम फेवादेनले स्वागत गरेको उक्त कार्यक्रममा विशेष प्रदेशका इन्चार्ज रेखा यादवले समायोजित समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए भने विशेष जिल्ला समितिका अध्यक्ष द्वय महेन्द्र राई र मिन वहादुर तामाङले आफूलाई दिइएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नेकपाका आधा दर्जनभन्दा बढी युवा नेताहरूलाई प्रमुख अतिथि श्रेष्ठले पार्टी प्रवेश गराएका थिए ।

Visits: 1326