पहिचान नदिए सबभन्दा पहिले प्रदेश १ भत्काउँछौंः खगेन्द्र माखिम

काठमाडौं । समाजवादी पार्टीनिकट लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले नेपालमा लिम्बुवान आन्दोलनको इतिहास ३०० वर्ष लामो भएको बताएका छन् ।

उनले पछिल्लो समय पनि लिम्बुवान आन्दोलन कमजोर नभएको बरु लिम्बुवानविरोधी शक्तिहरु बलियो भएर आएको बताए ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘लिम्बुवान आन्दोलन कमजोर भएको छैन, लिम्बुवानविरोधीहरु बलियो भएको मात्र हो ।’

उनले प्रदेश १ को नाम लिम्बुवान, किरात प्रदेश राख भनेर आफूहरुले भनिरहेको र पहिचानविरोधीहरुले त्यसलाई रोक्ने प्रयास गरिरहेको बताए ।

पहिचानको आधारमा नामाकरण भएन भने सात प्रदेशमध्ये सबभन्दा पहिले प्रदेश १ नै भत्किने उनकाे दाबी छ ।

प्रदेश १ मा विद्रोह हुने र अहिलेकाे संरचना नै भत्किने माखिमको भनाइ छ ।

‘हामीले पहिचानको आधारमा नाम राख्ने प्रयास गरिरहेका छौं, पहिचानविरोधीहरुले रोक्ने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘हामी प्रयास गर्छौ भएन भने प्रदेश भत्काइदिन्छौ । सात प्रदेशमध्ये सबभन्दा पहिले प्रदेश १ नै भत्किने छ ।’

News source: www.sarbajanik.com

Visits: 449