दमौली – ३१ अगष्ट २०१९ । समाजवादी पार्टी तनहुँको शनिबार दमौलीमा सम्पन्न भेलाले कृष्ण गुरुङको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
समितिमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट ५० र सङ्घीय समाजवादी पार्टीका तर्फबाट २५ सदस्य रहने व्यवस्था गरेको छ । जिल्ला समितिको सचिव र कोषाध्यक्ष मनोनित गर्न बाँकी रहेको सो पार्टीका केन्द्रीय सदस्य देवेन्द्र थापाले जानकारी दिए ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सो पार्टीका गण्डकी प्रदेश अध्यक्ष मोती रिजालले शपथ गराए थिए ।
पूर्वमन्त्री एवं सो पार्टीको केन्द्रीय सल्लाहकार समितिका संयोजक भीमप्रसाद गौतमले समाजवादी पार्टी नेपालको वैकल्पिक शक्तिको रूपमा उदय भएको बताए । केन्द्रीय सदस्य देवेन्द्र थापाले पार्टीको एकता प्रक्रियालाई मजबुत बनाउँदै पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।रासस